राज्यमन्त्री यादवद्धारा बागमति नदिको क्षतिग्रस्त ठोक्करको अनुगमन

21

सत्येन्द्र प्रताप सिंह
रौतहट, ३० असार ।
प्रदेश २ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले अविरल वर्षासँगै बागमति नदिमा आएको बाढीले गृह जिल्ला रौतहटको राजदेवी नगरपालिका ४ बस्तपुरमा कटान गरिरहेको बाँधको ठोक्करको तुरुन्त मर्मत सम्भार गर्न प्रदेश सरकारसँग पहल गर्ने बताउनु भएको छ ।
राज्य मन्त्री यादवले क्षतिग्रस्त ठोक्करलाई थप क्षति हुनबाट जोगाउन आफु कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभएको छ ।
रौतहट निर्वाचन क्षेत्र नं. १ को ‘ख’ बाट प्रदेश सांसदमा निर्वाचित प्रदेशसभा सदस्य समेत रहेका कृषि राज्य मन्त्री योगेन्द्र यादवले बागमति नदिले कटान गरिरहेको राजदेवी नगरपालिका ४ को बाँधको मंगलबार अनुगमन निरीक्षण गर्नुभएको थियो ।
बगमति नदिको बाढीले राजदेवी नगरपालिकाको बस्तपुर घाट स्थित ठोक्कर तिव्र गतिमा कटान गरिरहेको खबर पाउन साथ राज्यमन्त्री यादवले हिजो मात्रै जनकपुरबाट रौतहट आएका थिए ।
उक्त क्षतिग्रस्त बाँधको ठोक्करको आज विहानै अनुगमन गर्दै राज्यमन्त्री यादवले क्षतिग्रस्त ठोक्करलाई थप कटान हुनबाट रोक्न आफुले अविलम्ब प्रदेश सरकारसँग पहल गर्ने र तुरुन्त त्यसलाई नियन्त्रण गर्ने प्रतिवद्धता जनाएका हुन ।
उक्त कटानलाई समयमै निणन्त्रण गर्न सकिएन भने स्थिती भयावह बन्न सक्ने भन्दै राज्यमन्त्री यादवले समयमै क्षति ग्रस्त ठोक्करलाई मर्मत सम्भार गरी मजबुत बनाउने कार्यमा सबैलाई सहयोग गर्न अपिल गरेका थिए ।
राज्यमन्त्री यादवले उक्त ठोक्करको कटानलाई अविलम्ब नियन्त्रण गरी थप क्षति हुनबाट जोगाउन नदी नियन्त्रण कार्यालय, जिल्ला विपद व्यवस्थापन समिति र राजदेवी नगरपालिकालाई निर्देशन समेत दिनुभएको छ ।
अविरल वर्षासँगै गएको चार दिन अघि बागमति नदीमा आएको पानीको जलस्तर अहिले घटदै गएपनि राजदेवी नगरपालिका ४ मा बाँधलाई सुरक्षित राख्न बनाईएको ठोक्करलाई तिव्र गतिमा कटान गरिरहेको छ । समयमै उक्त कटानलाई नियन्त्रण गरिएन भने बागमति नदीको बाढीबाट राजदेवी र गौर नगरपालिकाको पुरै भाग डुवानमा पर्ने खतरा रहेको देखिएको छ ।