चाँदीका गहना सहित दुई पक्राउ

25

संतोष रन्जितकार
वीरगंज, ३१ असार ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा चोरी पैठारी गरी ल्याउंदै गरेको चाँदीका गहना सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले कलैया उप–महानगरपालिका वडा नं. ११ बिशम्भरपुर टोल स्थित कलैया–मटिअर्वा सडक खण्डमामा चेकजाँच क्रममा सो गहनाहरु बरामद गरेको हो ।
चेकजाँचको क्रममा भारतबाट नेपाल आइरहेको ना ६१ प ७२०४ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा २५ किलो चाँदीका तयारी गहनाहरु बरामद भएको थियो । साथै प्रहरीले उक्त मोटरसाईकलमा सवार कलैया उप–महानगरपालिका वडा नं.५ बस्ने महेन्द्र राउत यादवको छोरा वर्ष ३२ को ईन्द्रदेव प्रसाद यादव र जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं.६ बस्ने हलिम मियाँ अंसारीको छोरा वर्ष ३८ को वकिल अंसारीलाई आफ्नो नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएको गहना सहित दुवैजनालाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पठाउने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।