एकल महिलालाई कपाल काटेर गाउँ घुमाइयो

22

वीरगंज, १ साउन ।
छिपहरमाई गाउँपालिका वडा नं. ३ बस्ने छोटकी जयमंगलापुरको एकल महिलालाई बदचलन भएको आरोप लगाउंदै सोही गाउँपालिकाका एक कार्यपालक सदस्य सहित केही व्यक्तिहरुले कपाल काटेर गाउँ परिक्रमा गराएको घटना उजागर भएको छ ।
बुधबार बिहान ९ बजे एकल महिला परिवर्तित नाम गिता देवीलाई सोही गाउँपालिकाका सदस्य सुवास साह कानु, संजय गिरी, मुन्नीलाल परदेशी, राजदेव शर्मा लगायत केही महिला समेत बदचलन भएको आरोप लगाई कपाल काटेर गाउँ घुमाएको घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटेका प्रहरीहरु गई मुन्नीलाल परदेशी र राजदेव शर्मा सहित केही महिलाहरुलाई पक्राउ गरेको खबर प्राप्त भएको छ भने गाउँपालिका सदस्य सुवास साह कानु लगायतका केही व्यक्तिहरु फरार भएको बताइन्छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चका इन्सपेक्टर रबी भुषण यादवले पीडित महिलालाई आफन्तको जिम्मामा लगाएर पठाएको र केही व्यक्तिहरु हिरासतमा भएको बताउनु भयो ।
पीडित एकल महिलाको श्रीमान दुई वर्ष अगाडी बितेको तथा उनको ५ वटा छोरी र एक छोरा भएको र उनीहरुको लालन–पालनको लागि अरुको घरमा भाडा माझ्ने काम गरेर आफ्नो जिवीकोपार्जन गरिरहेको बताइन्छ ।