पर्सामा थप तीन जनामा कोरोना संक्रमणको पुष्टि

14

संतोष रन्जितकार
वीरगंज, २ साउन ।
पर्सामा आज थप तीनजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । वीरगंजमा दुई जना युवतीसहित जिल्लामा थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनु भएको हो ।
संक्रमण हुनेहरुमा पर्साको सखुवा प्रर्सौैनी गाउँपालिकाका २२ वर्षीया पुरुष, वीरगंज श्रीपुरकी १८ वर्षीय युवती र काठमाडौं स्थायी ठेगाना भई वीरगंजमा काम गर्दै आएकी ४५ वर्षीया महिला रहेको उपाध्यायले बताउनु भयो ।
उनीहरुको बितेको असार ३१ गते स्वाब संकलन गरि नारायणी अस्पतालमा पिसिआर परिक्षण गरिएकोमा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएका तीनै जनालाई नारायणी अस्पताल मातहत रहेको अस्थायी विशेष कोभिड अस्पताल गण्डकमा ल्याउने तयारी भइरहेको मेसु उपाध्यायले बताउनु भयो ।
पछिल्लो समय वीरगञ्जमा लक्षणसहितका संक्रमितहरू देखा पर्न थालेका छन् । केहि दिन अघि अरू कुनै स्वास्थ्य समस्या नभएका व्यक्तिमा कोरोनाका लक्षण देखिएसँगै आइसियूमा राखेर उपचार गर्दा मृत्युसमेत भएकोले कोराना भाइरस पहिलेभन्दा शक्तिशाली भएको चिकित्सकहरुको बिश्लेषण रहेको छ ।
यता पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले अहिलेको अवस्थामा भिडभाडमा नजान, स्वास्थ्य सुरक्षाका सबै शर्तकता तथा मापदण्डहरूको अनिवार्य रूपमा पालना गर्न सबै नगरवासीलाई आग्रह गरेका छन् ।