भारतबाट लुकिछिपी विभिन्न सिमानाका भई नेपाल प्रवेश गर्ने कामदारहरु बढ्दै

भारतीय कामदारहरु पीसिआर नगराएकोले स्थानीय कामदारमा कोरोनाको त्रास

22

संतोष रन्जितकार
वीरगंज, ३ साउन ।
बारा पर्सामा रहेका कलकारखानाका उद्योगपतिहरुले भारतबाट कामदार मगाउने कार्यमा जुटेका छन् । उद्योगपतिहरुले आफ्नो कलकारखानामा पहिले देखि नै काम गर्दै आएका भारतीयहरुलाई भारतबाट नेपाल पुन: बोलाएर काममा लगाइरहेका हुन् ।
उद्योगपतिहरुले आफ्ना उद्योगमा काम गर्ने भारतीय नागरिकहरुलाई नेपाल आउन सबै खर्च आफैले बेहोरेर नेपाल भित्र्याउने गरेको बाराका उद्यँेगमा कार्यरत एक कामदारले अंकुश दैनिकलाई बताए ।
भारत तथा बिहारमा अहिले कोरोनाको कहर दिनहुँ बढ्दै गएको र भारतबाट नेपाल आउने कामदारहरु पनि कोरोना भाइरस सम्बन्धी सरकारले तोकेको मापदण्ड पुरा नगरी भारतको बिहार रक्सौलबाट विभिन्न नाका भई लुकिछिपी नेपाल प्रवेश गर्ने गरेका छन् । उनीहरुले सिमानाकामा खटेका सुरक्षाकर्मीहरुलाई केही रकम दिएर नेपाल प्रवेश गराइरहेको भारतबाट आएका एक कामदारले बताए ।
यस सन्दर्भमा उद्योगपतिहरुले उनीहरुले विभिन्न अस्पतालबाट आरडिटी चेक गराएर आएको हुनाले आफुले उद्योगमा काम गर्न दिएको उद्योगपतिहरुको भनाई रहेको छ । कोरोनाले गर्दा पुरै विश्व नै विकराल बनेको अवस्थामा आरडिटीको केही मान्यता नभएको तथा पिसिआर चेक गराएर त्यसको रिपोर्ट अनुसार १४ दिन क्वारेन्टाइनमा बसेर मात्र कुनै काममा लाग्नु वा लगाउनु पर्नेमा यस्तो नगरेको कारणले यहाँका स्थानीय कामदारहरु धेरै नै त्रासमा काम गरिरहेका छन् ।
कोरोना महामारीले गर्दा ३ महिने लकडाउनको कारण सबै कामदारहरुको आर्थिक अवस्था एकदमै दयनीय बनेको छ र लकडाउन खुकुलो पार्दा कलकाराखानाहरु त खुले तर भारतबाट आएका कामदारहरुको कारण कोरोनाको त्रास निकै नै बढेको बाराका एक कामदारले बताए । स्थानीय कामदारहरुले आफ्नो अवस्था एकदमै दयनीय बनेको कारणले गर्दा काममा जानै पर्ने र कामबाट घर फर्केपछि आफ्नो घरपरिवार सबैसंग आफुले बस्ने भएको हुनाले आफुमात्र नभई आफ्नो पुरै घरपरिवार तथा गाउँ समाज नै कोरोना विकराल चपेटामा पर्न सक्ने उनीहरुले अंकुशलाई बताए ।
उद्योगपतिहरुले आफ्नो फाइदाको लागि भारतबाट आएका मजदुरहरुको पीसिआर चेक नगराएकोले हामी, हाम्रो घरपरिवार तथा गाउँसमाजसंग खेलवाड गरिरहेको स्थानीय कामदारहरुले आरोप लगाएका छन् ।
पीसिआर चेक गराउंदा खर्च लाग्ने भएकाले उद्योगपतिहरुले बारा पर्साका विभिन्न अस्पतालबाट आरडिटी मात्रै चेक गराएको उनीहरुको आरोप छ । यही अवस्था हुने हो भने भोलिका दिनमा बारा, पर्सामा पनि कोरोनाको संक्रमण बढ्दै जाने देखिन्छ ।
यस सम्बन्धमा सम्बन्धित निकायलाई आवश्यक छानबिन गर्नुपर्ने आवश्यकता रहेको स्थानीय कामदारहरुको भनाई रहेको छ ।