हाम्रो बिरगंज हाम्रो अभियान स्वच्छ, सफा, सौन्दर्य, सुरक्षित र हरित बिरगंज: प्रा.डा. दीपक शाक्य

4
प्रा.डा. दीपक शाक्य

व्यवस्थित बिरगंज अभियान भन्नु नै वीरगञ्ज अव्यवस्थित रहेको पुस्ट्याइँ हो । हुन पनि हो नेपालको प्रवेश द्वार, आर्थिक राजधानीको रूपमा रहेको व्यपारिक शहर वीरगञ्जको ऐतिहासिक, आर्थिक, धार्मिक, राजनैतिक, शैक्षिक महत्व रहेता पनि वीरगञ्ज व्यवस्थित रूपमा विकास हुन नसकेको सबैलाई सर्वविदितै छ ।

आदरणीय स्व. पशुपति घोसले आदर्शनगरको शहरि बिकास योजना बनाएर बिरगञ्जलाई व्यवस्थित शहरको रूपमा विकास गर्न प्रारुप तयार गरेको भएतापनि नगरपालिकाको भौगोलिक बिस्तार, अनियन्त्रित जनसंख्या बृद्धिदर र व्यापार, व्यवसाय तथा उद्योगधन्दा विकासको समयचक्र संगसगै यस शहरले आफुलाई व्यवस्थित रुपमा विकास गर्न सकेको छैन ।

अव्यवस्थित भवन निर्माण, अव्यवस्थित सडक र सडक पेटी, सडकहरुको दयनिय अवस्था, अव्यवस्थित ढल र नालाहरु, अव्यवस्थित बजारहरु, कमजोर ट्राफिक व्यवस्थापन, पार्किङ समस्या, सानो दुरिको बस बिसौनी, टेम्पु स्टान्ड, रिक्सा ढेला, टाँगा स्ट्याण्डको कमी, अव्यवस्थित नयाँ बसपार्क, सार्वजनिक शौचालय, सार्वजनिक खानेपानी, खुला गाइ भँैसि बाटोमा चर्ने, हरियालीको नाममा जथाभावी सडक पेटी तथा कोरिडोरहरुमा गरिएको वृक्षारोपनको दयनिय अवस्था, नगरको मुटुमा ट्रान्सपोर्ट नगर, ध्वनि प्रदूषण, आदर्श नगर पुरानो बसपार्कको जिर्ण अवस्था, शहिद तथा विपि उद्यानको जग्गाको चिर हरिण, सिरसिया खोलाको प्रदुषण आदिजस्ता थुप्रै कारणबाट वीरगञ्ज दिन प्रतिदिन कुरुप र अव्यवस्थित बन्दै गइरहेको छ ।

२१ वडा बाट रहरै रहरमा ३२ वडा बनाइ महानगरपालिका त बनायौँ तर एउटा बिज्ञापनमा भने झै शहर र गाउँ को फासला नै मेटियो । अनियन्त्रित बसाइसराई, अव्यवस्थित भवन निर्माण, बाटो छैन, ढल निकास छैन, बति छैन, नक्सा छैन, धमाधम घर बन्दै गइरहेको छ । खेत खेतमा ऐडीबिको सहयोगमा सडकहरुत बन्यो तर शहरि बिकासको कुनै योजना नहुँदा सडक र पेटीहरुमा घाँस उमरिरहेछ, बाइपासको सडक ट्रक तथा बसहरु बिसाउने बिसौनी भएछ ।

मुल शहर लाइ यसबाट केही उपलब्धि हुनसकेको छैन । अरबौंको लगानिमा वनेको बिरगञ्जको नाला तथा ढल निकासको समस्या समाधान हुन सकेको छैन, थोरै बर्षातमा बिरगञ्ज जलमग्न हुने र पुरानै नालीबेलिहरुको सरसफाई कार्यक्रम यसको प्रमाण हो । निजि ठेकेदार कम्पनीलाई फोहोर मैला व्यवस्थापनको जिम्मा दिएता पनि वीरगञ्जको फोहोर व्यवस्थापन हुन सकेको छैन । यस्तै थुप्रै कारणले गर्दा व्यवस्थित, सौन्दर्य, सफा, स्वच्छ, हरित र सुरक्षित बिरगञ्जको जति नारा र अभियानहरु सञ्चालन गरिएता पनि वीरगञ्ज व्यवस्थित हुन सकेको छैन ।

व्यवस्थित वीरगञ्ज बनाउन यहाँ थुप्रै अभियानहरु बर्षौ देखि संचालन हुँदै आएको छ । वर्तमान परिवेशमा पनि चलिरहेकै छ । रमेश खरेल सरको पालामा मेन रोड, आदर्श नगर र गिता मन्दिर रोडको दायाँ तिर मोटरसाइकल गाडी पार्किंगको व्यवस्था, सरबेन्द्र खनाल सर द्वारा माइस्थान मन्दिर अगाडि पार्क निर्माण, राजु बाबु र अशोक बैद्यजिको अगुवाइमा गुड मोरनिङ वीरगञ्ज सफाइ अभियान, किरण बज्राचार्य सर बाट घण्टा घर अगाडि बिपी पार्कमा यात्रुहरुको लागि बिसौनी, टेम्पु स्टान्ड, छोटो दूरीका सवारी साधन सञ्चालन गर्ने अस्थायी रूपमा भए पनि व्यवस्थित बस बिसौनी बनाएर व्यवस्थित र सुन्दर र सफा शहर बनाउनमा महत्वपूर्ण भूमिका खेलेको कुरा बिर्सन हुँदेन ।

यस कार्यहरुमा व्यवस्थित वीरगञ्ज अभियान, ग्रिन सिटि सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी, ब्यारेक गण, बिभिन्न सरोकारवाला संघ संस्थाहरु, संचारकर्मीहरु, नागरिक समाजका अगुवाहरू, सामाजिक अभियन्ताहरुको सक्रिय सहभागिता र सहयोग रहेको थियो । हाल सामुदायिक प्रहरी सेवा अन्तर्गत प्रहरी उपरिक्षक गंगा पन्त मैडमको सक्रियतामा माथि उललेखित सरोकारवालाहरुको सहकार्यमा वीरगञ्जलाइ व्यवस्थित बनाउने अभियानमा प्रतिबद्धताका साथ सरसफाई र ट्राफिक व्यवस्थापनमा निरन्तर लागिरहनुभएको छ । जुन अतिनै प्रशंसनिय छ ।

सबै अभियानहरुमा महानगरपालिको सहभागिता र सहयोग रहेको छ । तर मेरो जिज्ञासा के हो भने व्यवस्थित वीरगञ्ज भनेको के हो ? यसको दायित्व र जवाफदेहिता कसको हो ? व्यवस्थित वीरगञ्जको रोड म्याप छ कि छैन ? छैन भने हुनु पर्छ कि पर्दैन ? व्यवस्थितको दायरा घण्टाघर देखि आदर्श नगर सम्म कि वीरगञ्ज महानगरपालिकाको ३२ वडा सम्म ? प्रत्येक अभियानको स्वरूप हाकिमहरुको सरुवा संगै फेरिने हो भने यसको औचित्य के ? जनश्रम, सा्रेतसाधन समय, धनको दुरुपयोग र जनताको अबिश्वास बाहेक अरु केही उपलब्धि हुन सकेको छैन र हुँदैन पनि । यसले गर्दा व्यवस्थित, सौन्दर्य स्वच्छ, सफा, सुरक्षित हरित वीरगञ्ज बनाउने सपना अभियानमामै सिमित नहोला भन्न सकिन्न ।

व्यवस्थित वीरगञ्जको व्यवस्थापन र विकासको लागि वीरगञ्ज महानगरपालिकाको भुमिका सहयोगि नभएर नेतृत्वदायी अभिभावकत्वको हुनुपर्ने हैन र ? पक्कै पनि महानगरपालिकाले नै यसको दायित्व र जवाफदेहिता लिनुपर्नेमा कुनै आशंका गर्ने ठाउँ छैन । यसलाई सघाउन विभिन्न संघसंस्था, सामुदायिक प्रहरी सम्बन्धित निकायहरु, संचारकर्मीहरु, सामाजिक अभियन्ताहरुको समन्वय, सहकार्य र सहयोग महत्वपूर्ण रहन्छ र सहकार्य पनि रहँदै आएको छ ।
यथास्थितिमा अभियानहरुले छोटो समयको लागि केहि उपलब्धी देखिएता पनि यसले दिर्घकालिन उपलब्धि हासिल हुनेमा नगरवासीले आशंका गरेका छन् ।

यसर्थ यस अभियानलाई सार्थक एवं उद्देश्यलमुलक बनाउन छिटो र लामो समय सम्मको योजना बनाएर कार्यान्वयन गर्न निम्न सुझावहरु रहेको छ ।

१. व्यवस्थित, सौन्दर्य, सफा, सुरक्षित, हरित वीरगञ्ज अभियानलाई महानगरपालिकाले आफ्नै नेतृत्वमा संचालन गरि जिल्ला प्रहरी कार्यालय, सामुदायिक प्रहरी, ग्रिन सिटि, व्यवस्थित वीरगञ्ज अभियान, संचारकर्मी, वीरगञ्ज युबा समाज तथा सम्बन्धित सामाजिक निकायहरुसँग समन्वय र सहकार्य गरि अभियानलाई निरन्तरता दिन आग्रह ।
२. व्यवस्थित तथा बिकसित वीरगञ्जबारे सरोकारवालासंग छलफल गरि बिकासको रोडम्याप बनाइ अभियान संचालन गर्नु बढी प्रभावकारी हुन्छ ।
३. ट्राफिक व्यवस्थापन कमजोर देखिएका छ । यसको मुख्य कारण सांघुरो सडक, सडकपेटीमा पसलेको मिचाई, साँघुरो पेटिमा अव्यवस्थित वृक्षारोपण, धेरैजसो सडकमा पेटिनै नहुँदा बटुवाहरु सडकबाटै हिँड्न बाध्य छन् । यातायातको चाप बढी भएकोले पेटी रोड तथा ट्राफिक व्यवस्थापन जरुरी देखिन्छ ।
४. मोटरसाइकल गाडी पार्किङ समस्या समाधान गर्न वान वै ट्राफिक सडकमा एकतर्फी पार्किङ र टु वै सडकमा आदर्शनगर पुरानो बसपार्क, राम मन्दिरको खालि ठाउँमा र वि पि उद्यानको जग्गा बिर्ता बडा प्रहरी कार्यालयको फराकिलो पटीमा बिर्ता पुरानो दमकलको जग्गामा व्यवस्थित र सुरक्षित पार्किङ बनाएर मात्र पर्किङ निषेध गर्नुपर्ने । उद्यानको जग्गामै हाल अस्थायी रुपमा टुकटुक, टेम्पो, सानो दुरीको बस बिसौनी बनाई विभिन्न रुट निर्धारण गरी संचालन गर्दा बढी प्रभावकारी हुन्छ । .
५. टाँगा र बेलगाडाहरु बाइपास सडकमा मात्र संचालन गर्न दिने मुख्य शहरमा प्रवेश निषेध गर्नुपर्ने ।
६. शहरको मुटु आर्दशनगरमा रहेको ट्रान्सपोर्ट सेवाहरु शहर बाहिर मुल बाईपास तिर रुपान्तरित गर्न जरुरी देखिन्छ ।
७. सडकहरुको अवस्था ज्यादै जिर्ण रहेको हुँदा मर्मत सम्भार गर्न अति नै आवश्यक देखिन्छ ।
८. वातावरण विदहरुसंग सल्लाह गरेर वृक्षरोपण कार्यव्रmम सञ्चालन र नियमित रुपमा हेरचाह गर्नुपर्ने हुन्छ ।
९. बाटोमा खुछाडिएका पशु चौपायको नियन्त्रण र नियमन गर्न सकिएको छैन । बेलाबेलामा प्रयास गरेता पनि प्रभावकरी व्यवस्थापन गर्न जरुरी छ ।
१०. मेनरोडमा यतायातको चाप धेरै भएकोले बाटो साँघुरो हुँदै आएको छ । रेलवे रोड, बाइपास सडकमा, ट्राफिक रुट बानई यातायात संचालन गर्न आवश्यक छ ।
११. भर्खरै उद्घाटन भएको नयाँ बसपार्क व्यवस्थित रुपमा संचालन गरी बाइपास सडकमा राखिएको बस ट्रकहरु हटाउन जरुरी देखिन्छ ।
१२. निशुल्क र सशुल्क शुलभ शौचालय र सार्वजनिक स्वच्छ खानेपानीको संचालन गर्नुपर्ने अत्यन्त जरुरी छ ।
१३. फोहर मैला व्यवस्थापन अझ प्रभावकारी रुपमा कार्यन्वयन गर्नुपर्ने जरुरी देखिन्छ ।
१४. अव्यवस्थित तरकारी बजारहरुको व्यवस्थापन गर्न आवश्यक छ ।
१५. कार्यव्रmम जति राम्रो भएतापनि जनचेतना र जन सहभागिता सहयोग भएन भने प्रभावकरी र उपलब्धि मुलक हुन सक्दैन । यसर्थ यसको व्यापक जनचेतनामुलक कर्यव्रmम संचालन गर्नुका साथै नियमित अनुगमन गर्ने र पालना गर्ने र गराउने र पालना नगर्नेलाई कडा कारवाहिको निति नियम बनाई प्रतिबद्धताका साथ कार्यान्वयन गराउन पहल गर्नुपर्ने आवश्यक्ता छ ।

व्यवस्थित वीरगञ्जकोे दिर्घकालिन उपलब्धीका लागि निम्न योजनाहरु तर्जुमा गर्न सकिन्छ ।

१.वीरगञ्जको लाईफ लाईन सिर्सिया खोलाको उचित व्यवस्थान
२.ट्रान्सपोर्ट नगरको व्यवस्था
३.तरकारी बजारको निर्माण
४.मेनरोडलाई फराकिलो बनाउनुको साथै भित्रि सडकहरुको मर्मत सम्भार ।
५.स्थायी रुपमा सानो दुरीको बस बिसौनी, टेम्पु, स्ट्याण्ड, मोटरसाइकल गाडी पार्किङ बनाउन जरुरी देखिन्छ ।
६.बिपी उद्यानको जग्गा ट्रेड र ग्रीन पार्क निर्माण गर्नका साथै वीरगञ्जलाई हरित शहर बनाउन महानगरपलिकाले छुट्टै शाखा बनाएर ग्रीन कोरिडोर, सिटि गार्डेन, व्यवस्थित रुपमा बृक्षारोपण कार्यव्रmम संचालन गर्न जरुरी छ ।
७.स्वच्छ सफा वीरगञ्ज बनाउन पलास्टिक झोलाको बैकल्पीक व्यवस्था गरी पलास्टिक मुक्त शहर, ध्वनि प्रदुषण सडक र डिकपेटीको उचित उपयोग र व्यवस्थापन प्रभावकरी बनाउनुपर्ने ।
८. ढलनाला, फोहर मैला व्यवस्थापनको निती योजना तर्जुमा र कार्य प्रगती पनि भइसकेको हुनाले आवश्यकता अनुसार परिमार्जन गरी सो लाई प्रभावकारी व्यवस्थापन र कार्यन्वयन गर्नुपर्ने ।
९. घडिअर्वा पोखरीलाई म्युजिक पार्क, माइराम पोखरामा बाल मनोरञ्जन उद्यान, भिस्वा बौद्ध बिहार, नरसिहं मन्दिरको विकास, नगवा, श्रीपुर, लक्षुमनवामा रहेका पोखरीहरुको सौन्दर्यताको अभिबृद्धी आदी ।

यस सन्दर्भमा मैले मेरो विचार राख्नुको अर्थ व्यवस्थित वीरगञ्ज अभियान संचालनमा मेरो विमती र विरोध होइन । म पनि एउटा सामाजिक अभियन्ता भएको हुनाले यसमा म प्रारम्भ देखि संलग्न थिए, छु र रहन्छु । तर यस अभियानलाई अझ निरन्तरता, शसक्त, प्रभावकरी र र्निर्णायक बनाउने हो भने महानगरपलिकाले सहयोगीको नभएर नेतृत्वदायी र जवाफदेहिताको भुमिका र्निवाह गर्नुपर्छ । साथै मुख्यमन्त्रि, यस क्षेत्रका सांसद र विद्यायकहरुलाई अभिभावक्तव प्रदान गराई उहाँहरुको कोषलाई पनि समुचित उपयोग गर्न सक्नुपर्छ । यस विषयमा सारोकारवाला सबैको गहन छलफल होस भनेर यस विषयको उत्थान मात्र गरेको हु ।