बारामा ४६ र पर्सामा ४ जनामा कोरोना पुष्टि

13

संतोष रन्जितकार
वीरगंज, ५ साउन ।
बाराका ४६ जना र पर्साका ४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । वीरगंजको नारायणी अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा यो संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
बाराका ४६ जना देवताल गाउँपालिकाले बनाएको क्वारेन्टिनमा रहेकाहरु हुन त्यसैगरि पर्साका ४ जना भने होटेल कुमु प्यालेसमा पेड क्वारेन्टिनमा बसेकाहरु रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन कुमार उपाध्यायले बताउनु भयो । बाराका ४६ जना संक्रमितमध्ये १० जना महिला समेत रहेको मेसु उपाध्यायले जानकारी गराउनु भयो ।
संक्रमण पुष्टि भएकाहरुलाई कलैया र वीरगंजको आइसोलेशनमा ब्यवस्थापन गर्ने तयारी भइरहेको उहाँले बताउनु भयो । संक्रमित मध्ये देवताल गाउँपालिकाका ३४ जना, सुवर्ण गाउँपालिकाका ३, कलैया उप–महानगरपालिकाका ३, र धनकौलका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा गाउँपालिका अध्यक्षसहित ९ जना जनप्रतिनिधि, १६ जना स्वास्थ्यकर्मी, ६ जना गाउँपालिकाका कर्मचारी, ६ जना स्वास्थ्यकर्मीको परिवारका सदस्य र बाँकी स्थानीय रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पाण्डेले जानकारी दिनु भयो ।
पर्सामा एक दिन पहिले पनि ७ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । बीरगंजको कोभिड अस्पताल गण्डकमा भर्ना भएकाहरुमा संक्रमणको लक्षण देखिएको अस्पतालका संयोजक डा.उदय नारायण सिंहले बताउनु भयो ।
८ जनामा श्वास लिन गाह्रो हुने, जीउ दुख्ने, रुघा, ज्वरो लाग्ने, खान मन नलाग्ने लगायतका कोरोनाको लक्षणहरु देखिएको उहाँले बताउनु भयो ।