कोरोनाविरुद्धको खोप पत्ता लागेको घोषणा,डब्ल्यूएचओले दियो बधाई

10

एजेन्सी ।

अक्सफोड विश्वविद्यालयले कोरोना भाइरसविरुद्धको खोप पत्ता लागेको घोषणा गरेको छ । सो विश्वविद्यालयले विकास गरेको खोप सुरक्षित रहेको तथा इम्युन रेस्पोन्स पनि भएको बीबीसीले जनाउको छ ।

११ हजार ७७ व्यक्तिमा गरिएको परिक्षण सफल भएको समाचारमा जनाइएको छ । दोस्रो चरणको यो परिक्षणका क्रममा कोरोना भाइरसविरुद्ध एन्टिबडी र टिसेल निमार्ण गर्न सफल भएको देखिएको छ ।

बेलायतले यो खोपको एक अर्ब मात्रा उत्पादन गर्न अक्सफोर्ड विश्वविद्यालय र खोप निर्माता कम्पनीसँग अर्डर गरिसकेको छ । यो खोप मान्छेलाई असर नगर्ने तर चिम्पाञ्जीलाई संक्रमण गराउने भाइरससँग आनुवांशिक मिश्रणद्वारा तयार गरिएको विश्वविद्यालयको भनाइ छ । यो खोपले कोरोना भाइरसको ‘स्पाइक प्रोटिन’लाई निष्क्रिय बनाउने विश्वास गरिएको छ ।

दोस्रो चरणको परिक्षणमा सहभागी भएका ९० प्रतिशतलाई पहिलो डोजले नै एन्टिबडी विकास गरेको छ भने बाँकी १० प्रतिशतलाई दोस्रो डोज दिँदा काम गरेको छ । सहभागीमध्ये ७० प्रतिशतलाई ज्वरो आउने र टाउको दुख्ने लक्षण देखिएको छ । तर यसले कुनै गम्भीर प्रभाव भने नपारेको समाचारमा उल्लेख छ ।

तेस्रो तथा अन्तिम चरणको परिक्षणमा बेलायतमा एकलाा व्यक्तिलाई, अमेरिकामा ३० हजार व्यक्तिलाई दक्षिण अफ्रिकामा दुई हजार व्यक्तिलाई र ब्राजिलमा पाँच हजार व्यक्तिलाई समाबेश गरिने विश्वविध्यालयले बताएको छ ।

यो बर्षको अन्त्यसम्म स्वास्थ्यकर्मी तथा जोखिम बर्गमा रहेका व्यक्तिलाई खोप दिने तथा अर्को बर्षको मध्यसम्म ठूलो मात्रामा वितरण भएर विश्वका अधिकांश देशमा पुर्याउने उत्पादकको दावी छ ।

भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई डब्ल्यूएचओले बधाइसमेत दिएको छ ।

यद्यपि फैलिँदो संक्रमणबाट लड्नका लागि अझै धेरै काम गर्न बाँकी रहेको डब्ल्यूएचओले जनाएको छ ।