वर्षाका कारण वीरगंज जलमग्न

41

संतोष रन्जितकार
वीरगंज, ६ साउन ।
दुई दिनदेखि परेको अविरल वर्षाका कारण वीरगंज जलमग्न बनेको छ । पानीका कारण वीरगंजको मुख्य बजार क्षेत्र आर्दशनगर, प्रशासनीक क्षेत्र, गोश्वारा रोड, श्रीपुर, पानीटंकी, १६ नम्बर वडाका बिभिन्न स्थानहरुमा पानी जमेका हो ।
वीरगंजको आदर्शनगरको धेरै पसलहरुमा समेत पानी पसेको छ । वीरगंजमा पानीको निकासका प्रवन्धहरु ठिक नभएको कारण पानी जम्न पुगेको हो । श्रीसिया नदीको सतह भरिएको र नदीको बहाव क्षेत्र अतिक्रमणमा परेका कारण पनि वीरगंजको विभिन्न स्थानहरु जलमग्न हुन पुगेको हो ।


त्यसैगरी वीरगंजस्थित नारायणी अस्पतालको भवन जिर्ण हुँदा छतबाट पानी चुहीने समस्याका कारण चिकित्सकहरुसँगै सेवाग्राही पनि मारमा परेका छन् । विगतमा पनि पटक–पटक पानी चुहिने समस्या भएपनि मर्मत तथा सम्भारमा सम्बन्धित पक्षको लापरवाहीका कारण अहिले पनि सोही समस्यासँग जुध्नुपरेको नाराययणी अस्पतालका छाला चर्म तथा यौन रोग विशेषज्ञ एवम् बरिष्ट कन्सलटेन्ट डा. अतुलेश कुमार चौरसियाले बताए । कोरोना महामारीको त्रासका बिच पनि आफ्नो जिम्मेवारी बहन गरेका चिकित्सकहरु अहिले वर्षाका कारण भवनको छतबाट पानी चुहिँदा बर्षाती लगाएरै सेवाग्राहीको परिक्षण गर्नुपरेको डा. चौरसिया बताउनुहुन्छ ।
विगतमा पनि छतबाट सिमेन्ट खस्ने लगायतका समस्याबाट आजित भएका चिकित्सकहरु यस वर्ष पनि पानी चुहीने समस्याबाट ग्रसित भएका छन् ।
नारायणी अस्पतालको मेडिकल ओपिडि, अर्थाेपेडिक ओपिडि, फिजियोथेरापी, छाला तथा यौन रोग विभाग, लगायतका विभागहरुमा पानी चुहिरहेको अस्पतालका अर्थाेपेडिक सर्जन डा. रोशन अलिले बताउनुभयो । छतबाट पानी चुहिँदा अस्पतालको फिजियोथेरापी मेशीन नै बिग्रिएरको मेशिनबाट करेन्ट समेत प्रवाह भइरहेकोले फिजियोथेरापी सेवा समेत अवरुद्ध भएको चिकित्सकहरुले बताएका छन् । नारायणी अस्पताल मात्रै नभई वीरगञ्जका अन्य कार्यालयहरुमा समेत पानीको कारणले समस्या हुने गरेको छ ।