वर्षौदेखि जाम रहेका नालाहरुको सरसफाई गरियो : अध्यक्ष खेतान

26

संतोष रन्जितकार
वीरगंज, ६ साउन ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ब्यवस्थित वीरगंज अभियानलाई निरन्तरता दिंदै मंगलबार वीरगंज महानगरपालिकाको विभिन्न स्थानका साना तथा ठुला नालाहरुको सरसफाई गरिएको छ । शनिबार रातीदेखि परेको अविरल बर्षाको कारण वीरगंजको विभिन्न स्थानहरु जलमग्न भएको अवस्थालाई मध्यनजर गरी नालाको सरसफाई गरिएको हो ।


वीरगंजमा रहेका अधिकांश नालाहरु फोहरहरुले जाम भएको कारण वर्षाको पानी बग्न नसकेर बस्ती तथा सडकमा आउने भएकोले सो सरसफाई गरिएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी आदर्शनगर ग्रीन सिटीका अध्यक्ष जयप्रकाश खेतानले बताउनु भयो ।
वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर, गिता मन्दिर देखी राधा मेमोरियल स्कूलसम्ममा रहेका साना तथा ठुला नालाहरुमा भएको फोहर तथा जलकुम्भीहरुले गर्दा पानी बग्न नसकेर बाटोमा आइरहेकोले उक्त नालाहरुको सरसफाई गरिएको थियो ।
वीरगञ्ज महानगरपालिकाले उपलब्ध गराएको १ वटा स्काभेटर र पर्साका प्रहरी उपरिक्षक गंगा पन्तले आफ्नो व्यक्तिगत खर्चमा तेल तथा पारिश्रमिकबाट दिएको स्काभेटर गरी २ वटा स्काभेटरको सहयोगमा वीरगंज महानगरपालिकाका बर्षौ देखि फोहरहरुले जाम रहेका नालाहरुलाई सरसफाई गरिएको ग्रीन सिटीका अध्यक्ष खेतानले बताएका थिए ।


सो सरसफाई कार्यक्रम जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक गौतम थापाको विशेष उपस्थितीमा सम्पन्न भएको थियो भने कार्यक्रममा वडा नं. १० का वडा अध्यक्ष रामनगिना प्रसाद कानु, वीरगंज महानगरपालिकाका सरसफाई कार्यालयका पदाधिकारी सर्फुदिन मियाँ, ग्रिनसिटीका पदाधिकारीहरु, ट्राफिक प्रहरी, नेपाल प्रहरी, त्रिलोक चन्द दारुका लगायत बिभिन्न संघ संस्था एंव क्लबका पदाधिकारी तथा युवाहरुको सहभागिता रहेको थियो ।