सर्वदलिय बैठकमा उपस्थित भएनन् मेयर सरावगी, सहभागीहरुद्वारा कडा आलोचना

3

वीरगंज, ९ साउन ।
प्रमुख जिल्ला अधिकार बिष्णु कुमार कार्कीले बोलाएको जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साको बैठकमा वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी उपस्थित भएनन् ।पर्सा जिल्लामा पहिलो पटक समुदाय स्तरमा कोरोना भेटिएपछि शुक्रबार बसेको बैठकमा विभिन्न राजनीतिक दलका जिल्ला नेतृत्वदेखि सुरक्षाकर्मीहरु समेतले मेयर सरावगीको कार्यशैलीप्रति कडा टिकाटिप्पणी गरेको समाचार प्राप्त भएको छ ।

आज बसेको बैठक खासगरी ‘मासटेस्टिङ्ग’ को सन्दर्भमा कसरी अगाडी बढ्ने विषयमा केन्द्रित रहेको र यसको व्यवस्थापन सम्बन्धी बोलाइएको सर्वदलिय बैठकमा मेयर साहेबको उपस्थिती नभएपछि सबैले खल्लो मानेको पर्साका सहायक प्रमुख जिल्ला अधिकार ललित बस्नेतले बताउनु भयो ।

कोरोना नियन्त्रणको निम्ति सबैभन्दा बढी आफु खटिरहेको र जस्तो सुकै सहयोग गर्न तम्तयार रहने बताउादै आएका मेयर सरावगीलाई कोरोना संक्रमित व्यक्तिको मृत्यु पश्चात एक सुरक्षा निकायका जिल्ला स्थित प्रमुखले फोन गरी शव व्यवस्थापनको लागि सहयोग माग्दा सहयोग नगरेको आजको बैठकमा कुरा उठेको बताइन्छ ।

यस सन्दर्भमा बैठकमा उपस्थित राजनीतिक दलका नेता एवं वीरगंज महानगर प्रमुख बिजय सरावगीले दिएको प्रतिक्रिया आदरणीय पाठकबृन्द समक्ष प्रस्तुत गरेका छौ । 

नेकपा पर्साका जिल्ला अध्यक्ष प्रभु हजरा –
मेयर साहेबले केटाकेटीको पाराले बोलेर काम हुँदैन । सम्बन्धीत ठाउँमा कुरा राखेर समन्वय गरेपछि मात्र काम हुने हो । समस्या आइसकेपछि समाधान तर्फ जाने प्रयत्न गर्नुपर्छ । कोभिड अस्पताल सञ्चालनकै सन्दर्भमा मेयर साहेब आफै फसे र हामी राजनीतिक दलका नेताहरुलाई पनि फसाए । आज निकास निकाल्ने बैठकमा उहाँ आउनुपर्ने तर वहाँ आउनु भएन । काम गर्दा मैले मात्र गरे भनेर हुँदैन । टिमवर्कले राम्रो परिणाम दिन्छ । समन्वय गरेर अगाडी बढेमात्र यो महामारीसंग जित्न सकिन्छ ।

नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी –
पर्सा जिल्लामा यत्रो ठुलो समस्या आइपर्‍यो । समुदाय स्तरमा कोरोना देखिसकेपछि आज बसेको बैठकमा मेयर सरावगीलाई आउनु पर्ने थियो तर आएनन् । मै हु मैले नै गरे भनेर हिडेको कारणले गर्दा समस्या उत्पन्न भएको छ । शुरुमा अगाडी बढ्ने अहिले आएर जिम्मेवारीबाट पन्छिन मेयरलाई मिल्दैन । यो भन्दा अगाडीको बैठकमा मेयर साहेब गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिंदा मैले कडाईको साथ सम्झाएको थिए ।

समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादव –
आजको बैठकमा मेयर बिजय सरावगीको गतिविधिको बारेमा सबैले आलोचना गरे । यो भन्दा अगाडी बसेको बैठकमा कोरोनाबाट संक्रमित व्यक्तिको मृत्यु भएमा सबै व्यवस्था म गर्छु भनेर भनेका मेयरले हालै कोरोनाबाट मरेको व्यक्तिको शव व्यवस्थापनको लागि कर साहेबले फोन गर्दा मेयर साहेबले झर्केर प्रजिअलाई फोन गर्नु भनेको सन्दर्भमा कुरा उठेको थियो । पार्टीको एकीकरण सम्बन्धी कामले व्यस्त हुनुपर्दा मेयरको गतिविधिप्रति त्यति ध्यान दिन सकेको छैन । एम्बुलेन्सको ड्राइभर छैन भनेर पन्छिने माननीयहरुबाट आएको पैसा समेतको उचित व्यवस्थापन गर्नुपर्नेमा त्यो पनि भएन ।

वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी –
मैले शुरुदेखि नै कोभिड नियन्त्रणको निम्ति सार्थक प्रयास गर्दै आएको छु । हरेक बैठकमा म गएर कोभिड नियन्त्रणको निम्ति दिएको सुझावलाई कसैले मानेनन् । प्रजिअले बोलाएको हरेक बैठकमा म गए तर मैले बोलेको कुरा कसैले ग्रहण नगरेपछि आजको बैठकमा म गइान । मैले आफ्नो क्षमताभन्दा बाहिर गएर पनि कोभिड नियन्त्रणको प्रयास गरेको छु र मेरो तर्फबाट हुनसक्ने सम्पूर्ण प्रयास गर्नेछु् ।