स्थानीय प्रशासनद्वारा कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको स्वाब सङ्कलन

15

सन्तोष रंजितकार,
बिरगंज ।

कोभिड–१९ सङ्कट व्यवस्थापन समिति पर्साको नेतृत्वमा वीरगन्ज महानगरमै आइतबारदेखि छुट्टै मास टेस्टिङ सुरु गरेको छ । आइतबार पहिलो दिन वीरगन्जको मीना बजार र राधेमाइ टोलमा गरी २ सय ५९ जनाकाे स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

आइतबार मीनाबजारमा स्वाब संकलन केन्द्र स्थापना गरी त्यहाँका व्यापारी, तरकारी तथा फलफूल पसले र मृतक संक्रमितका परिवारका सदस्य र छिमेकी गरी २ सय ९ जनाको स्वाब संकलन गरिएको ठाकुरले जानकारी दिए । यस्तै संक्रमणको जोखीममा रहेको राधेमाइ टोलमा आइतबार नै ५० जनाको स्वाब संकलन गरिएको र भोलि सोमबार बिर्ता र मुर्ली मा स्वाब संकलन गरिने उनले बताए ।

साउन पहिलो सातादेखि वीरगन्जमा संक्रमितको संख्या दिनहुँ थपिँदै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पर्सामा संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।