बुधबार बिरगंजमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

8

बिरगंज ।

बिरगंजमा आज दुई जना  कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गण्डक कोभिड अस्थायी अस्पतालमा उपचाररत  ६८ वर्षीय  कोरोना सङ्क्रमण पुरुष र ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो ।

पछिल्लो ६ दिनदेखि गण्डक अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका ६८ वर्षीय पुरुषको बुधबार उपचारको क्रममा बिहान पौने ११ बजे तिर मृत्यु भएको अस्पतालका नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।

मृतक पुरुष वीरगञ्ज महानगरपालिका वडा नं. ५ रेशकोठी निवासी रहेको मेसु डा. उपाध्यायले जानकारी दिए । उनी मुटुको समस्याबाट पनि ग्रस्ती थिए ।

यस्तै ७१ वर्षका पुरुष पखाला लागेर उपचारका लागि विभिन्न अस्पताल हुँदै नेशनल मेडिकल कलेजमा पुगेका थिए । उनको मिर्गौलामा समेत समस्या देखिएको थियो ।

उपचारका क्रममा उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । तर रिपोर्ट नआउँदै बुधबार विहान मृत्यु भयो । बुधबार साँझ पोजेटिभ रिपोर्ट आएको छ ।

पर्सामा हालसम्म एक भारतीय सहित ८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।