दुई जना वडा अध्यक्ष सहित प्रमुख प्रशासकीय अधिकृत लगायत महानगरका एक दर्जन भन्दा बढी कर्मचारीहरु संक्रमित

106

वीरगंज, २१ साउन ।
वीरगंज महानगरपालिकाका दुई वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत एक दर्जन कर्मचारी र पर्सा कारागारका जेलर सहित पर्सामा ११६ जना कोरोना संक्रमित भएका छन् ।
बुधबार सार्वजनिक भएको कोरोना संक्रमितहरुको सूचिमा १७ जना बाराका संक्रमितहरु गरी १३३ जना कारोना संक्रमित रहेको पुष्टि नारायणी अस्पतालले गरेको छ ।
संक्रमितहरु मध्ये वीरगंज महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत साह कानु र वडा नं. १८ का वडा अध्यक्ष ब्रह्मदेव राउत कुर्मी, महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौला, उनकी श्रीमती, अर्का योजना महाशाखाका अधिकृत सुमन श्रेष्ठ, आ.ले.प. अधिकृत हरिशंकर प्रसाद कुर्मी, नगर प्रहरी इन्चार्ज हरि भुषाल लगायत एक दर्जन भन्दा बढी महानगरका कर्मचारीहरु संक्रमित भएका छन् । यसैगरी वीरगंज कारागारका जेलर श्रावण पोख्रेल पनि संक्रमित भएका छन् ।
वीरगंजमा संक्रमितहरुलाई राख्न उचित क्वारेन्टाइनको व्यवस्था नभएकोले ५०० भन्दा बढी संक्रमितहरु आ–आफ्नै घरमा बसेका छन् । कैयौ संक्रमितहरु खुल्ला रुपले हिडडुल गरेर अरुलाई पनि संक्रमित बनाउंदै हिडिरहेको अवस्था प्रति कडा प्रतिक्रिया दिंदै जसपा नेता सुन्दर कुर्मी भन्छन् तिनै तहको सरकार कोरोना नियन्त्रणमा असफल भयो । विगत ११ दिनदेखी निषेधाज्ञा जारी रहेको र दैनिक जिवन यापनको लागि चाहिने सामग्रीको व्यवस्था स्थानीय प्रहरी प्रशासनले नगरेको कारण पर्सा जिल्लामा निषेधाज्ञाको उल्लंघन भई स्थिती थप जटिलता तर्फ उन्मुख हुने अवस्था बढेर गएको छ ।