सानो पाइलाद्वारा नारायणी अस्पताललाई ६ थान भेन्टिलेटर हस्तान्तरण

41

बिरगंज ।

सानो पाइलाको पहलमा कोरोना संक्रमित गम्भीर विरामीहरूको उपचारार्थ वीरगञ्जस्थित नारायणी अस्पताललाई ६ वटा नयाँ भेन्टिलेटर उपलब्ध गराइएको छ। नारायणी अस्पताललाई उपलब्ध गराइएको भेन्टिलेटर इनभेसिब र नन-इनभेसिब प्रकारका रहेको सानो पाइलाले जनाएको छ।

लक्षण देखिएका र दीर्घरोगी संक्रमितलाई कुनै पनि बेला भेन्टिलेटरजडित आईसीयूमा राखेर उपचार गर्नुपर्ने देखिएकाले नारायणी अस्पताललाई भेन्टिलेटर सहयोग गरिएको सानो पाइलाले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले गरेको वर्गीकरणअनुसार प्रदेश २ मा लेभल १ का अस्पतालमा ५ र लेभल २ का अस्पतालमा ५ गरी मात्र १० भेन्टिलेटर भएको अवस्था छ। त्यसैले भेन्टिलेटरको अभाव हुन सक्ने देखेर नारायणी अस्पताललाई ६ वटा भेन्टिलेटर हस्तान्तरण गरिएको सानो पाइलाका गभर्निङ बोर्ड सदस्य डा राकेश कुमार झाले जानकारी दिए। ˋˋकोरोना संक्रमणको विद्यमान परिदृश्य हेरेर हामीले हाललाई तीन महिनाका लागि भेन्टिलेटरहरु उपलब्ध गराएका छौं। आवश्यक परे थप समय सेवा दिन पनि सकिन्छ,ˊˊ बोर्ड सदस्य डा. झाले भने।

कोरोना संक्रमितको उपचारका लागि भेन्टिलेटर सेवा उपलब्ध गराउन सहायता नेपाल र बुढानिलकण्ठ पूर्व विद्यार्थी समाजले आर्थिक सहयोग गरेका हुन्।