उच्च अदालतद्वारा निजि अस्पतालहरुकाे नाँउमा अन्तरिम आदेश जारी

347

बिरगंज ।

उच्च अदालत अस्थाई ईजलास बीरगंजले स्वास्थ्य संस्थाहरुमा उपचार गराउन गएका बिरामी एवम् कार्यरत चिकित्सक समेतका स्वस्थ्यकर्मीको स्वास्थ्य सतर्कता अपनाई उपचार सेवा दिन, दिलाउन कुनै पनि बहानामा ईन्कार नगर्नु नगराउनु भनि बीरगंजका सम्पुर्ण सरकारी तथा निजी अस्पतालहरुको नाँउमा अन्तरिम आदेश जारी गरेको छ ।

अधिवक्ताहरु बिरेन्द्र प्रसाद यादव, रामनारायण प्रसाद कुर्मी तथा निरज कुमार गुप्ताले संयुक्त रुपमा दायर गर्नु भएको रिटमा सुनुवाई गर्दै उच्च अदालत अस्थाई ईजलास बीरगंजका माननिय न्यायाधिश बिरबहादुर डाँगीको एकल ईजलासले सो आदेश गरेको हो । आदेशमा नेपालमा समेत महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट संक्रमित ब्यक्ति बाहेक अन्य रोगबाट ग्रसित ब्यक्तिलाई कोरोना भाईरसको परिक्षण नै नगरि निज कोरोना भाईरसबाट संक्रमित भएको भनि अनुमान गरि उपचार नै नगर्ने हो भने अन्‍य प्राणघातक रोगको उपचार नपाई मृत्यु समेत हुन गई अपुर्णिय क्षति समेत हुन सक्ने हुँदा निवेदकहरुको माग बमोजीम स्वास्थ्य संस्थाहरुमा उपचार गराउन गएका बिरामी एवम् कार्यरत चिकित्सक समेतका स्वस्थ्यकर्मीको स्वास्थ्य सतर्कता अपनाई उपचार सेवा दिन भनिएको छ ।

साथै आदेशलाई निरन्तरता दिने वा नदिने सम्बन्धमा छलफलका लागी यही भाद्र ८ गते उपस्थित हुन निवेदक तथा बिपक्षीहरुलाई समेत भनिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाण्डौ, मुख्यमन्त्रीको कार्यालय प्रदेश २, जिल्ला प्रशासन कार्यलय पर्सा तथा बीरगंजका निजी अस्पतालहरुलाई बिपक्षी बनाई परेको सो रिट निवेदमा निवेदक अधिवक्ताहरु बिरेन्द्र प्रसाद यादव, रामनारायण प्रसाद कुर्मी, निरज कुमार गुप्ता तथा अधिवक्ता रामबली प्रसाद चौहान लगायतले बहस गर्नु भएको थियो ।