नारायणी एफ.एम आईशोलेसनमा परिवर्तित, सञ्चारकर्मीहरुको भूमिका अतुलनीय छ- अध्यक्ष चौहान

47

बिरगंज ।

मध्य तराईको पहिलो सामुदायिक रेडियो नारायणी एफ.एम. १०३.८ मेगाहर्जका सञ्चारकर्मी, कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि एफ.एम. स्टेशनलाई नै आईशोलेसन बनाएर प्रसारणलाई निरन्तरता दिएको हो ।

कार्यक्षेत्रमा कार्यरत रहेको अवस्थामा सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्जका कार्यरत स्टेशन प्रमुख सहित ७ जना रेडियोकर्मी संक्रमित भएका थिए । रेडियोका कार्यकारी अध्यक्ष गोविन्द देवकोटा अनुसार गत साउन १८ गते स्टेशन प्रमुख संक्रमित भएका थिए । उनी साउन १९ गते नै कोभिड अस्थायी अस्पताल हेल्थकेयरमा भर्ना भई १२ दिन पछि उनी कोरोना मुक्त भएर साउन ३० गते घर फर्किए । साउन २८ गते रेडियोका ५ जनाको परीक्षण गराउदा एकजना प्राविधिकलाई संक्रमण देखियो । अरु चार जनाको नेगेटिभ आएको थियो । त्यसपछि भदौ ४ गते गरिएको परीक्षणमा पाँचजनामा संक्रमण देखियो । अहिले ७ जना सञ्चारकर्मी, कर्मचारीहरु आइसोलेसनमा छन ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहानले नारायणी एफएममा कार्यरत सञ्चारकर्मीहरुले खेलेको भूमिका समाजप्रतिको जिम्मेवारी र आफ्नो पेशाप्रतिको समपर्ण रहेको बताएका छन् । उनले भने, “आफु संक्रमित भएर पनि समाजका लागि निरन्तर सूचना प्रवाह गर्न तल्लिन रहने रेडियो र रेडियोका सञ्चारकर्मीहरुको भूमिका अतुलनीय छ । यो शब्दमा वर्णन गर्नै नसकिने खालको छ । एफएमका सञ्चारकर्मीहरु पूज्यनीय छन् ।”