मोटरसाईकल र मोबाईल चोर पक्राउ

329

बारा, १३ भदौ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटेका प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ ।
बारा कलैया उपमहानगरपालिका वडा नं.४ बस्ने बिगन महतोको घरबाट उनको आफन्त बारा देवताल गा.पा. वडा नं.३ बस्ने राजु कुमार कुशवाहाको नाउँमा दर्ता रहेको बा ७६ प १६९४ नम्बरको पल्सर मोटरसाइकल र मोबाइल चोरी भएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाराले दिएको निर्देशन अनुसार सिम्रौन गढबाट खटेका प्रहरी टोलीले उनीहरुलाई चोरी भएको मोटरसाईकल सहित पक्राउ गरेको हो ।
महतोको घरबाट हिजो शुक्रबार राती १२ बजेर ४५ मिनेटमा मोटरसाईकल र मोबाईल १ थान चोरी भएको थियो । प्रहरीले चोरीको खबर प्राप्त हुनासाथ जिल्ला बाहिर जाने सबै नाका सिल गरी बाराको सिम्रौनगढ नगरपालिकाको वडा नं. ९ मा रहेको बारा–रौतहटको सिमानामा जोडिएको अडुवा खोलाको पुलबाट दुवैजनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका वडा नं.३ बस्ने असलम मियांको छोरा वर्ष १९ को सरफराज मियाँ र सोही ठाउँ बस्ने अहमद हासिमको छोरा वर्ष २२ को जफिर आलम रहेका छन् । प्रहरीले उनीहरुले चोरी गरेको किराना पसलका सामानहरु, मोबाईल ४ थान र मोटरसाईकल सहित नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरुमाथि चोरी मुद्दा दर्ता गरी थप अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।