वीरगंजमा निषेधाज्ञा २५ गतेसम्म लम्बियो, स्वास्थ्य तथा सुरक्षाको मापदण्ड पुरा गर्नेगरी पसलहरु आलोपालो खुल्ने

154

बीरगन्ज, १८ भदौ ।
वीरगंजमा २५ गतेसम्मको लागि निषेधाज्ञा बढाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सुरक्षा समितिको बैठकले निषेधाज्ञा लम्ब्याउनुको साथै वीरगंज बजारका पसलहरु आलो–पालो गरी खोल्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको बैठकले निषेधाज्ञा एक हप्ताका लागि थप्दै निषेधाज्ञाको मोडालिटी परिवर्तन गरी बजार तथा पसल भने आलोपालो गरी खोल्न पाइने गरी निषेधाज्ञालाई केही खुकुलो पारेको छ ।


निर्णय अनुसार पूर्वतर्फ र दक्षिणतर्फ फर्केका पसलहरु सोमबार, बुधबार र शुक्रबार खोल्न पाइनेछ भने पश्चिम र उत्तरतर्फ फर्केका पसलहरु भने आईतबार, मंगलबार र बिहीबार खोल्न पाइनेछ । पसलहरु बिहान ११ बजेदेखि ४ बजेसम्म मात्र खोल्न पाइनेछ ।
तरकारी र फलफुल पसल बिहान ५ बजेदेखि ८ बजेसम्म खोल्न दिइने गरी निर्णय गरिएको छ । तरकारी र फलफुल पसल रेल्वे रोडमा घण्टाघर चोकदेखि २०० मिटर स्कुलदेखि दक्षिण तर्फ एकतर्फी रुपमा मात्र खोल्न पाइने प्रशासनले जनाएको छ । साथै, बजार तथा पसल खोल्दा सामाजिक दुरी कायम गर्ने र भिडभाड नियन्त्रण गर्ने सम्पूर्ण जिम्मेवारी व्यवसायीको हुने र स्वास्थ्य तथा सुरक्षाको मापदण्ड अवज्ञा भएमा व्यवासायीलाई कारवाही गरिने प्रजिअ अस्मान तामाङले बताए ।
आलोपालो गरी बजार तथा पसल खोल्ने बाहेक अन्य सबै कुरामा आगामी भदौ २५ गतेसम्मको लागि निषेध गरिएको प्रजिअ तामाङले जानकारी दिए ।