अनुगमन टोलीद्वारा ५ पसललाई कारवाही, ७० हजार जरिवाना

143

संतोष रन्जितकार
वीरगंज, २२ भदौ ।
कोरोना महामारीको कारण विभिन्न पसलहरुले उपभोक्ताहरु ठगी गरीरहेको उपभोक्ताहरुको गुनासो आएपछि अनुगमन टोलीले सोमबार पनि अनुगमन कार्यलाई जारी राखेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त अनुगमन टोलीले सोमबार वीरगंजको विभिन्न स्थानको पसलहरुको अनुगमन गरेको हो ।
अनुगमन टोलीले यसअघि आइतवार पनि अनुगमन गरी १ लाख १० हजार जरिवाना गरेको थियो भने आज ५ वटा पसललाई कारवाही गर्दा ७० हजार जरिवाना गरेको थियो ।
वीरगञ्जको राधेमाई र विन्दवासिनिमा रहेका खाद्यान्न तथा किराना पसलहरुमा अनुगमन गर्दा मूल्य सूची नराखेको तथा खरिद बिल उपलब्ध गराउन नसकेको र म्याद गुज्रेका समानहरु संचित गरी राखेको पाइएपछि ५ पसललाई कारवाही गरिएको हो ।
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम वीरगञ्ज महानगरपालिका वडा न. १९ विन्दवासिनिमा रहेको मनिष गल्ला भण्डार एण्ड ट्रेड सप्लायर्सलाई २० हजार, सशी किराना पसललाई २० हजार, सन्दिप किराना तथा गल्ला भण्डारलाई २० हजार, वीरगञ्ज महानगरपालिका वडा न. १३ राधेमाईमा रहेका आसिका जनरल स्टोरलाई ५ हजार र चन्दन ट्रेड इन्टरनेसनललाई ५ हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
त्यसैगरी विभिन्न पसलबाट म्याद गुज्रिएको ८ सय ४० रुपैया बराबरको पेय पदार्थ समेत नष्ट गरिएको छ । साथै कँही कतै कालोबजारी गरेको र मनोमानी मुल्यमा बिक्री वितरण गरेको पाइए आवश्यक प्रमाण साहित प्रशासनमा उजुरी दिन पनि आग्रह गरिएको छ ।