कोरोना महामारीमा पनि अग्रपंक्तिमा रहेर काम गर्ने २५ सञ्चारकर्मी सम्मानित

कोरोनाको कहरमा पनि भ्रष्टाचार र कमाउ धन्दामा लागेकाहरुको अब पत्रकारहरुले भण्डाफोर गर्नुपर्छ : अध्यक्ष चौहान

59

संतोष रन्जितकार
वीरगन्ज, २७ भदौ ।
कोरोना महामारीको यस्तो भयावह अवस्थामा पनि फ्रन्ट लाइनमा रहेर काम गर्ने वीरगन्जका २५ जना पत्रकारलाई भाइजान्स अफ वीरगन्जले सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा एक कार्यक्रमको आयोजना गरी पर्साका २५ जना क्रियाशिल पत्रकारलाई सम्मान गरिएको हो ।
आफू र आफ्नो परिवारको जोखिमभन्दा पनि समाजप्रतिको दायित्व प्रमुख ठानी कोरोनाको हटस्पट बन्दै गएको वीरगन्जमा समाचारको खोजी गर्दै हिड्ने पत्रकारहरुको हौसला बढाउंदै सम्मान गरिएको थियो ।

कोरोना महामारीका समयमा फ्रन्ट लाइनमा रहेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र सरसफाईकर्मीले खेलेको भूमिका निकै सराहानीय रहेको भाइजान्स अफ वीरगन्ज (वीओवी) ले बताएको थियो ।
बीओबीका अध्यक्ष नौसाद अन्सारीले जनताको जिम्मेवारी लिएर बसेका मानिस समेत सुरक्षाको लागि घर भित्र बस्दै आएको परिस्थितिमा पनि यी चार निकायका व्यक्ति कहिले पछाडी नपरेको बताए ।


पत्रकार सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहानले पत्रकारहरुको दायित्व निर्वाह गर्ने क्रममा थप जिम्मेवारी थपिएको बताए । कोरोनाको कहरमा भएका भ्रष्टाचार र कमाउ धन्दाको पनि अब पत्रकारहरुले भण्डाफोर गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
त्यसैगरी महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछानेले कार्यले पत्रकारहरुको हौसला बढ्ने मात्र नभई थप दायित्व पनि थपिएको बताए ।


यसैबीच पर्सा अध्यक्ष श्याम बन्जाराले समाजमा पत्रकारहरुको कामको मूल्याँकन पनि भइरहेको कुरा यस्ता कार्यक्रमले प्रष्ट पारेको बताए । पत्रकारहरुले ठूलो जोखिम उठाएर समाज प्रतिको भूमिका निर्वाह गर्दा १४ जना पर्साका पत्रकारहरु संक्रमित भइसके । तर पनि आफ्नो संचारकर्ममा कुनै कमि नगरेको उनले बताए ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछान, पर्सा अध्यक्ष श्याम बन्जारा सहित राजधानी दैनिकका तुलसी भण्डारी, बीबीसी नेपालीकी माधुरी महतो, अंकुश दैनिकका सन्तोष रंजितकार, एभी न्यूज टिभीका राजन रौनियार, न्यूज २४ का जाकिर हुसेन, न्यूज प्वान्टका मन्सुर खान र रेडियो वीरगन्जकी विमला गुप्ता लगायतलाई सम्मान गरिएको थियो ।