प्याजको कृत्रिम अभाव देखाई कालोबजार गर्ने एक व्यापारी पक्राउ

53

संतोष रन्जितकार
बारा, २ असोज ।
दुई दिनदेखि प्याजको कृत्रिम अभाव देखाएर दोब्बर मूल्यमा प्याज बिक्री गर्ने एक जना व्यापारीलाई बारा प्रहरीले पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका–१ मा रहेको खुशी स्टोरका संचालक चन्दन साहले दोब्बर मुल्यमा व्याज विक्रीवितरण गरेर कालोबजारी गरेको कारण प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्याजको कालोबजारी गरी बढी मूल्यमा बिक्री गरिरहेको सूचनाको आधारमा प्रहरी नै ग्राहक बनेर प्याज खरिद गर्दा साहले ४३ मा खरिद गरेको प्याज ८० मा बेचेका थिए । बढी मूल्यमा प्याज बिक्री गरेपछि प्रहरीले साहलाई पक्राउ गर्नुका साथै उक्त स्टोरबाट १८ वटा बोरामा रहेको ४ क्वीन्टल ५८ किलो प्याज बरामद गरेको छ ।
पक्राउ परेका साहविरुद्ध कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।