रिलायन्स सुपरटेक सिमेन्ट भु–माफिया बन्दै

844

मनोज साह
बारा जितपुर, १० असोज ।
बाराको जितपुर–सिमरा उपमहानगरपालिकाका सार्वजनिक जग्गाहरुको संरक्षण गर्ने निकायले चासो नदेखाउँदा भु–माफिया तथा पहुँच हुनेहरुले सार्वजनिक जग्गाहरु मिच्दै आईरहेका छन् । यस्तै कार्य जितपुरमा रहेको रिलायन्स सुपरटेक सिमेन्ट प्रा. लि. ले गरेको प्रकाशमा आएको छ । यस उधोगले सगरदिन छातपिपार, बेहारा हुँदै बग्ने कुलोलाई अतिक्रमण गरेको पाईएको हो ।
उक्त उद्योगले १२ फिट देखि १८ फिट सम्म चौडाई रहेको कुलोको सात कठ्ठा जग्गा हड्पेको श्री सगरदिन मौजा बाधपैन समितिका अध्यक्ष सुरेन्द्र साहले बताए । रिलायन्स सुपरटेक सिमेन्टले स्थानीय केही ब्यक्तिहरुलाई प्रलोभन देखाई चुप गराएर अतिक्रमण गरिरहेको साहले बताए । उक्त कुलोको पानी सगरदिना छातपिपारा, बलुवा, बेहरा लगायतका ठाउँमा रहेको खेतहरुमा खेती गर्न प्रयोगमा आउँदै गरेको थियो । तर उद्योगले कुलो अतिक्रमण गरिदिंदा किसानहरु मर्कामा परेको छातपिपराको किसान रोशन चौधरीले गुनासो गरेका छन् । उक्त कुलो रिलायन्स सुपरटेक सिमेन्ट उधोग हुँदै बगेको छ र उधोगले उक्त कुलोको पानी हयुम पाइप हालेर निकासा दिएको उधोगका प्रतिनिधि बिनय श्रीवास्तवले जनाए पनि पत्रकारलाई हयुम पाइप हालिएको ठाउँमा जान तथा फोटो खिच्न रोक लगाएका थिए । उधोगले दादागिरी शैलीमा सार्वजनिक जग्गा एवं कुलो मिचेको पाइएपनि पैसाको लोभलालच देखाई यस बिरुद्धमा आवाज उठाउनेहरुलाई आफ्नो मान्छे लगाई पन्छाउने गरेको समितिका अध्यक्ष सुरेन्द्र साहले बताए । यदि उधोगले अतिक्रमित जग्गा तथा कुलो अतिक्रमण गर्न नछोडेमा बृहत् आन्दोलन गर्ने र सम्बन्धित निकायहरुलाई दबाब सिर्जना गर्ने किसानहरुले बताएका छन् ।