नक्कली ईन्स्पेक्टर सहित परिक्षार्थी पक्राउ

9,099

संतोष रन्जितकार
वीरगंज, १४ असोज ।
पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बाट बुधबार २७ जना पक्राउ परेका छन् । नेपाल प्रहरी तथा अनुसन्धान व्युरोमा विभिन्न पदमा जागिर लगाईदिने भन्दै किर्ते परिक्षा सञ्चालन गर्ने २ जना महिलासहित ६ परिक्षार्थीगरी २१ जना पक्राउ परेका हुन् ।
नक्कली ईन्स्पेक्टर बनेर महानगरपालिका वडा नं १६ स्थित नगवामा रहेको देव पार्टि प्यालेसमा परिक्षा लिईरहेको अवस्थामा प्रहरीले छापामारी गरि पक्राउ गरेको हो । जागिर लगाईदिने भन्दै लाखौँ ठगी गरेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार विगत लामो समयदेखि उक्त पार्टि प्यालेसमा ठगीधन्दा सञ्चालित थियो । गोप्य रुपमा यसरी परिक्षा सञ्चालन भईरहेको भन्ने विशेष सुचनाका आधारमा वडा प्रहारी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक निर्मल पनेरुको नेतृत्वमा खटिएको प्रहरीको टोलिले नक्कली ईन्स्पेक्टर सहित परिक्षार्थीहरुलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले घटनाका बारेमा पुष्टि गरेपनि विस्तृत जानकारी दिन मानेको छैन । पर्साका प्रहरी प्रवक्ता मनोजित कुँवरले केही व्यक्तिहरुलाई पक्राउ गरेको बताएपनि बिहीबार मात्रै घटनाबारे थप विवरण सार्वजनिक गर्ने बताएका छन् ।

जागिर लगाईदिने भन्दै प्रतिव्यक्ति २५ देखि ३० हजारका दरले असुली गरेको स्रोतको दाबी छ । पक्राउ पर्नेमा मुख्य अभियुक्त बाराको जितपुर सिमरा बस्ने अजय यादव रहेको स्रोतको भनाई छ ।
उनी नक्कली ईन्स्पेक्टर बनेर परिक्षा सञ्चालन गरिरहेका थिए । विगत लामो समयदेखि सञ्चालन भईरहेको यो ठगी धन्दामा देव पार्टि प्यालेसका सञ्चालकको पनि मिलेमतो रहेको अनुमान गरिएको छ ।