नक्कली लोकसेवाको परीक्षा लिने मुख्य योजनाकार सहित ८ जना पक्राउ

81

संतोष रन्जितकार
वीरगंज, १५ असोज ।
विभिन्न सरकारी पदमा जागिर लगाईदिने भन्दै लोकसेवा आयोगको किर्ते परिक्षा सञ्चालन गर्ने मुख्य योजनाकार सहित ८ जनालाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।
विभिन्न स्थानका व्यक्तिहरुलाई विभिन्न सरकारी पदमा जागिर लगाईदिने भन्दै नक्कली लोकसेवाको परीक्षा समेत लिने मुख्य योजनाकार सहित ८ जनालाई बिहीबार जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
पक्राउ परेका बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ चौधरी टोल बस्ने बर्ष २९ को अजय कुमार रायलाई नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र २ थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान, त्यसकै प्रश्न पत्र २६ थान र खरिदारको प्रवेश पत्र १ थान सहित आज सार्वजनिक गरेको हो ।

वीरगन्ज महानगरपालिका वडा नं १६ नगवामा रहेको देव पार्टी प्यालेसमा लोकसेवा आयोगको नक्कली परिक्षा लिईरहेको अवस्थामा हिजो पर्सा प्रहरीले नक्कली प्रहरी निरीक्षक, परीक्षा गार्ड र परिक्षार्थीहरु सहितलाई नियन्त्रणमा लिएको थियो ।
मुख्य योजनाकार रायले परीक्षार्थीहरुसंग नेपाल प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र निजामति खरिदार समेतमा जागिर लगाई दिन्छु भनेर ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक मनोजित कुवँरले बताउनुभयो ।
विगत ९ महिना देखि प्रहरी चौकी परवानीपुर, ईलाका प्रहरी कार्यालय नगवामा आफूलाई प्रहरी निरीक्षक हुँ भनेर परिचय समेत दिदै हिडेको राय जिल्ला प्रहरी कार्यालय बाराबाट २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा पुर्पक्षको लागि ११० दिन बीरगंज कारागारमा कैद सजाय भुक्तान गरिसकेका छन् । उनले विभिन्न स्थानका व्यक्तिहरुबाट ३ लाख ६१ हजार रुपैंया ठगी गरेको देखिएको प्रहरीले जनाएको छ ।
नक्कली प्रहरी निरीक्षक बनेका राय सहित परीक्षा हलबाटै जितपुर सिमरा वडा नम्बर ५ बस्ने बर्ष ५७ को हिरालाल महतो सोही स्थानका बर्ष २८ का बसन्त चौधरी, वीरगन्ज महानगरपालिका वडा नं.१६ बस्ने बर्ष २१ को रवि कुमार चौरसिया, पकाहामैनपुर गाउँपालिका वडा नं. ५ सबैठवा बस्ने बर्ष ४७ को शिव नारायण चौरसिया, वीरगन्ज २७ रानीघाट बस्ने बर्ष २५ को रामजी चौरसिया र दुईजना परीक्षा गार्ड बस्न आएका महिलालाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कुवँरले बताउनुभयो । पक्राउ परेका रायले आफु नै मुख्य योजनाकार रहेको र अरुको संलग्नता नरहेको बयान प्रहरीलाई दिएको छ ।
प्रहरीका अुनसार पक्राउ परेका दुईजना महिलाहरुले पनि आफुहरुलाई पारिश्रमिक दिएर परीक्षा गार्ड बस्न बोलाएको अन्य विषयमा भने केही जानकारी नभएको बयान दिएका छन् ।
तर, अन्यको संलग्नता रहे नरहेको विषयमा प्रहरीले अनुसन्धान गरेपछि मात्रै जानकारी हुने जनाएको छ । परीक्षा दिन आएका २१ जनालाई भने हिजो सोधपुछ गरेर आज आउने गरी छोडिएको र आज पीडितहरुको लिखित जाहेरीको आधारमा नै प्रहरीले मुद्दा अघि बढाईने प्रहरी नायव उपरीक्षक कुवँरले बताउनुभयो ।