शिक्षा पत्रकार समूहको संगठन विस्तार, शिक्षाको सुदृढिकरण गर्न प्रदेश २ सरकार तयार छ : मन्त्री यादव

43

संतोष रन्जितकार
वीरगंज, १९ असोज ।
करिब दुई दशक केन्द्रमा सकृय रहेको शिक्षा पत्रकार समूहको संगठन विस्तार प्रदेश नम्बर २ मा पनि गरिएको छ । विश्व शिक्षक दिवसको अवसर पारेर आज शिक्षा पत्रकार समूह प्रदेश २ मा पनि संगठन विस्तार गरिएको हो ।
शिक्षा पत्रकार समूहको प्रदेश नम्बर २ मा नै पहिलो पटक विस्तार गरिएको समिति ९ सदस्य रहेको शिक्षा पत्रकार समूहका केन्द्रिय अध्यक्ष तुलाराज अधिकारीले घोषणा गर्दै बताए । प्रदेश स्तरीय शिक्षा पत्रकार समूहको नयाँ संगठन विस्तार कार्यक्रममा प्रदेश नं. २ सरकारका प्रवत्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवको प्रमुख आतिथ्यता रहेको थियो । भर्चुअल कार्यक्रम मार्फत घोषणा गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानको विशेष उपस्थितिमा रहेको छ ।
शिक्षा पत्रकार समूह ( इजेजी ) को प्रदेश २ स्तरीय नयाँ समिति ( न्युज कारोवार/क्षिरेश्वरनाथ डटकम ) मा सकृय धनुषाका पत्रकार दिपेन्द्रप्रसाद सिंहको संयोजकत्वमा बनेको छ । केन्द्रले केही महिना अगाडी नै संयोजक भने तोकिसकेको थियो ।
विस्तारित कमिटिमा कुन–कुन जिल्लाका पत्रकारहरु परे
इजेजीको विस्तारित कमिटिको सदस्यहरुमा पर्साबाट तुलसी भण्डारी (राजधानी दैनिक/थाहाखवर डटकम र थाहा संचार नेटवर्क ), बाराबाट उपेन्द्र ठाकुर (कान्तिपुर टेलिभिजन) सलार्हीबाट मनोज कुमार यादव (लोकतन्त्र दैनिक, नविन विस्फोट दैनिक), महोत्तरी बर्दिवासबाट सुनिता बराल (कान्तिपुर दैनिक), नागेन्द्र कर्ण जलेश्वर (गोरखापत्र दैनिक), धनुषाबाट कैलास दास (धनुषा, सामाचार दैनिक), सिरहाबाट शम्भु यादव (अन्नपूर्णा पोष्ट दैनिक) र सप्तरीबाट विद्यानन्द राम (जनता टिभी) का सकृय पत्रकारहरु सर्वसम्मत सदस्य चयन भएका छन् ।
चुनौतिसँगै अवसर : मन्त्री यादव
प्रदेश २ स्तरीय इजेजीको घोषणा सभामा प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले तराई मधेशको मानव विकास सूचकांकमा निकै पछाडी रहेको शिक्षाको सुधारका लागि शिक्षा पत्रकारितामा लाग्ने पत्रकारको भूमिका अझ बढेर गएको बताए । यस्तो संगठन विस्तारसँगै प्रदेश २ को शिक्षा क्षेत्रको सुधारको लागि इजेजीले खेल्नु पर्ने भूमिका अरु प्रदेशको भन्दा बढि छ उनले भने । शिक्षाको सुदृढिकरणका लागि प्रदेश २ सरकार कार्यगत एकता गरेर अगाडी बढ्न तयार रहेको पनि मन्त्री यादवले बताए । पत्रकारहरुले पनि यहाँको चुनौतिलाई अवसरका रुपमा लिएर अगाडी बढ्नु पर्ने उनको सुझाव छ ।
मुलुकको साक्षरता दर ६६ प्रतिशत हुँदा यो प्रदेशको साक्षरता दर ४९ प्रतिशत मात्र छ । अझ महिला साक्षरता दर झन कम ३६ प्रतिशत र यो प्रदेशमा सवैभन्दा बढी जनसंख्या भएको दलितहरुको साक्षरता दर ८ प्रतिशत मात्रै हुनुले यहाँको शिक्षाको सुधारका लागि पत्रकार, नागरिक समाज लगायत सरोकारवालाहरुसँग प्रदेश सरकारले पनि हातेमालो गरेर अगाडी बड्न तयार रहेको मन्त्री यादवले बताए ।
यो प्रदेशको शिक्षाको सुधारको लागि सबै पक्षको उजागर आवश्यक: अध्यक्ष चौहान
नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले मानवीय विकास सूचकांका निकै पछाडी परेको प्रदेश २ को उन्नति र प्रगतिको लागि शिक्षा पत्रकारिताको माध्यमले राम्रा र नराम्रा गतिविधि सबै उजागर गर्न पर्ने बताए । यसको लागि नागरिक समाज, अभिभावक, शिक्षक, विद्यालयहरुले गरेका सकारात्मक पहलदेखि शिक्षा क्षेत्रका सबै कमजोरीलाई आलोचनात्मक टिप्पणीका रुपमा उजागर गर्न पर्ने चुनौति रहेको उनको भनाइ छ ।
इजेजी प्रदेश २ को घोषणा सभामा प्रदेश २ का आठ वटै जिल्लाका विभिन्न व्यक्तिहरुको प्रतिनीधित्व रहेको थियो । उनीहरुले कोभिडको समयमा शिक्षा क्षेत्र अरु क्षेत्रभन्दा नराम्ररी प्रभावित भएको भन्दै राजनीतिकदेखि सामाजिक, सांस्कृतिक र भौतिक रुपमा पछाडी परेकाले सबै क्षेत्रभन्दा शिक्षा क्षेत्रमा बढि चिन्तलशिल भएर लाग्नु पर्ने सुझाव दिए ।