जितपुरसिमराको निर्माणाधिन ६ लेनको सडक अलपत्रमा, सम्बन्धित निकाय मौन

264

मनोज साह
जितपुर बारा, २४ असोज ।
वीरगंज–पथलैया ६ लेन सडक निर्माण कार्य हाल जारी रहेको भएपनि निर्माण कार्यमा ढिलाई भएको कारण निर्धारित समयमा नसकिने भएको छ ।
बि. स. २०७३ असारमा टेन्डर आव्हान गरी बिभिन्न निर्माण कम्पनीहरुलाई सडक निर्माण गर्ने ठेक्का दिइएको थियो । जसमध्ये सिमराको सुर्य नेपाल प्रा.लि. देखि जितपुरको आर्मी ब्यारेकसम्मको ६ लेन सडक निर्माण गर्ने जिम्मा युनाइटेड बिल्डर्सलाई दिइएको थियो भने उक्त सडक २०७५ मै निर्माण सम्पन्न भई सक्नु पर्ने निर्माण कार्यमा ढिलाई भएको कारण निर्माण हुन सकेन । जसले गर्दा पुन: अर्को सम्झौता गरी २ वर्षको थप म्याद बढाई बि. सं. २०७७ पौष १० गतेसम्ममा निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने भनी युनाइटेड बिल्डर्सलाई पुन: मौका दिइएको थियो । तर यस योजना सकिने म्याद ३ महिना पनि बाँकी नरहेको र निर्माण कम्पनीका ठेकेदार सकुन्तला हिरालाल चन्द तथा सडक बिभागको मिलोमतो तथा हेलचक्रयाईले यस योजनाको कार्य ओझेलमा परेको छ ।

जितपुरसिमरा नगर उधोग बाणिज्य संघका अध्यक्ष संजय साह सहितको टोलीले धेरै पटक सडक बिभाग तथा निर्माण कम्पनीको ध्यानाकर्षण गराए पनि सम्बन्धित निकाय मौन बसेको छ । उधोग वाणिाज्य संघ तथा जितपुरका अगुवाहरुले मिली पटक–पटक सडक बिभागलाई डेलिगेशन लगेको, छलफल गरेको भएपनि निर्माण कार्य सुचारु नभएको प्रति अध्यक्ष साहले दु:खेसो पोखे ।
युनाइटेड बिल्डर्सले भएको सडक पनि तोडेर अहिले धुलो र हिलोमा बस्न बाध्य पारेको र ब्यापारीका नगरी जितपुरको व्यापार चौपट भईसकेको जितपुर रेडिमेड व्यावसायी संघका अध्यक्ष प्रकाश गिरीले गुनासो गरेका छन् । जितपुरसिमरा उपमहानगरपालिका वडा ७ का वडा अध्यक्ष रामबाबु गुप्तासंग यस परियोजनाले कहिलेदेखि गति लिन्छ भनी बुझ्दा उहाँ पनि यस प्रति अन्यौलमा रहेको तर छिट्टै सम्बन्धित निकायसँग समन्वय गरिने बताउनुभयो । अब जबसम्म सिमराको सुर्य नेपाल प्रा. लि.देखि जितपुरको आर्मी ब्यारेकसम्मका आमजनता, ब्यापारी, बिभिन्न पार्टीका प्रतिनिधिहरु, संघ–संसथाहरु एकजुुट भई आन्दोलन गर्दैनन्, तबसम्म कानमा तेल हालेर बसेका सडक बिभाग पथलैया तथा निर्माण कम्पनीले योजना सुचारु नगर्ने भएकोले अब यसको कुनै बिकल्प नरहेको स्थानीय ब्यापारी राम शरण बस्नेतले बताए । सडकमा भएको खाल्डाखुल्डीले दिनहुँ दुर्घटनाहरु निम्ति रहेको र जितपुरको सडक पार गर्न धेरै गार्‍हो हुने गरेको सुमो चालक गणी पटेलले बताए ।