सबै क्षेत्र खुलिसकेको अवस्थामा शिक्षा क्षेत्रलाई मात्र बन्द गरिराख्नु अनुचित हो ः सांसद यादव

88

संतोष रन्जितकार

वीरगंज, २५ असोज ।

बिगत लामो समयदेखि बन्द रहेको निजी बिद्यालयहरु खुलाउने वातावरण निर्माणमा सरोकारवालाहरु लागिपरेका छन । वीरगंजस्थित होटल अन्नपूर्णमा आइतबार प्याब्सन पर्साले एक कार्यक्रमको आयोजना गरी सबै सरोकारवालाहरुसंग छलफल गरेको हो ।

कोरोना महामारी देशमा फैलिन थालेपछि सरकारले चैत्र १० गतेदेखि लकडाउन गरेको थियो । सो लकडाउनको कारण देशभरीका सबै विद्यालयहरु बन्द हुन पुगेका थिए । अब आएर सरकारले सबै क्षेत्रहरु संचालनमा ल्याएपनि विद्यालयहरु भने खोल्न आदेश दिएको छैन । विद्यालयहरुमा साना–साना बालबालिकाहरु समेत जाने भएकोले तथा साना–साना बालबालिकाहरु कोरोना महामारीको चपेटामा चाँडै पर्ने भएको हुनाले सरकारले विद्यालयहरु खोल्न निर्देशन दिएको छैन । तर विद्यालयहरु नखोलिएको खण्डमा विद्यार्थीहरुको पठन–पाठनमा धेरै कमी कमजोरी उत्पन्न भएको देखिएको छ । यहाँसम्मकी विद्यार्थीहरुले पढेका कुरा पनि बिर्सिन थालेका छन् ।

सोही कुराको मध्यनजर गर्दै प्याब्सन पर्साले आयोजना गरेको छलफल कार्यक्रममा सबै सहभागीहरुले स्वास्थ्यका सबै मापदण्ड अपनाएर बन्द रहेका बिद्यालय खुलाउन धारणा राखेका थिए ।

कार्यक्रममा पर्सा निर्बाचन क्षेत्र नम्बर १ का माननीय सांसद प्रदिप यादबले सबै क्षेत्र खुल्नुका साथै कोरोना नियमित जनजीवनमा समेत प्रबेश गरिसकेको हुनाले शिक्षा क्षेत्रलाई अव अनिर्णयको बन्दी बनाएर बन्द राख्न नहुने बताउनु भएको थियो ।

उहाँले कोरोनाका बीचपनि यसको बचाउको उपाए अवलम्बन गरि बिद्यालय खोलाएर पाठन–पाठन गर्न बिलम्ब भएमा यसको असर बिद्यार्थी तथा अभिभावकहरुमा पर्ने भएकोले अव बिद्यालय खोल्न सबैलाई आग्रह गर्नुभयो ।

उहँले नजिकै छिमेकी जिल्ला र अधिराज्यका अधिकांस जिल्लाहरुमा बिद्यालय खुलीसकेको हुनाले पर्सामा पनि खोल्नुपर्ने र यसमा बाधा उत्पन्न भएमा त्यसको फेस आफुले गर्ने बिश्वास समेत दिलाउनु भएको थियो ।

डा. हरिशंकर साहको सभापतित्व सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका सभापति अजय द्विबेदी, प्राध्यापक डाक्टर दिपक शाक्य, शिक्षक महासंघका तिर्थराज यादब, नेपाल पत्रकार महासंघ पर्साका श्याम बन्जारा, शिक्षक बिनोद मेहता, जिल्ला समन्वय समिती पर्साका प्रमुख नेक महमद मियाँ, प्रदेशसभा सदस्य करिमा बेगम, अभिभावक संघका अमरबहादुर गौतम, इश्वरचन्द्र यादब, संघीय शिक्षक फोरमका अध्यक्ष आलोक चौरसिया, अशोक संग्रौला लगायतको उपस्थिती रहेको थियो ।