जनता समाजवादी पार्टी पर्साद्वारा दोस्रो दिनपनि पार्टी प्रवेश कार्यक्रमको आयोजना

कोरोनाको यस्तो विषम परिस्थितीमा वृहत पार्टी प्रवेश कार्यक्रमको आयोजना गर्नु जनताको स्वास्थ्यसँग खेलवाड गर्नु हो : नागरिक समाज

47

संतोष रन्जितकार
वीरगंज, २७ असोज ।
जनता समाजवादी पार्टी पर्साले दोस्रो दिन पनि बृहत पार्टी प्रबेश कार्यक्रम सम्पन्न गरेको छ । जनता समाजवादी पार्टीले पर्साको विभिन्न ठाउँमा सोमबार देखि सुरु गरेको पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिंदै मंगलबार पनि पर्साको विभिन्न ग्रामिण भेगहरुमा बृहत पार्टी प्रबेश कार्यक्रमको आयोजना गरेको हो ।

कोरोना महामारीले गर्दा विश्वका २१६ वटा देशहरु प्रभावित भई यसको सामना गरिरहेका छन् । यस्तै नेपालमा पनि सरकारले कोरोना महामारीको कारण पछिल्ला दिनहरुमा लकडाउन तथा निषेधाज्ञा समेत जारी गरेको थियो । तर अहिले सरकारले सबै क्षेत्रहरु खोलेको हुनाले पछिल्ला दिनहरु भन्दा दैनिक संक्रमितको संख्या अहिले बढ्न गएको छ । यसका कारण देशभरी एक लाख १५ हजार भन्दा बढी संक्रमितहरु फेला परेका छन् भने सक्रिय संक्रमित अहिले ३५ हजार नाघिसकेका छन् तथा यसबाट देशभरीका ६६३ जनाले ज्यान गुमाईसकेका छन् ।
यो महामारी समुदाय स्तरमै फैलिएको कारणले सरकारले सबै क्षेत्र खोलेपनि सभा, भेला जस्ता भिडभाड हुने कुनै कार्यक्रमहरु संचालन नगर्न आदेश दिएको बखत पूर्व प्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री, प्रदेश नं. २ का मुख्यमन्त्री, सांसदहरु, सभासदहरु जस्ता जिम्मेवार व्यक्तिहरुले यस्तो पार्टी प्रवेश कार्यक्रमको आयोजना गरी हजारौंको संख्यामा मानिसहरुलाई उपस्थित गराएर कार्यक्रम गर्नुले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको खिल्ली उडाउनु हो । यस्ता जिम्मेवार व्यक्तिले नै गैरजिम्मेवारीपूर्ण काम गरेपछि भोलीका दिनमा जनताहरु के गर्ने होलान जस्ता प्रश्नहरु नागरिक समाजका अगुवाहरुले गरिराखेका छन् ।
कोरोना भाईरस एक मानिसबाट अर्को मानिसमा सर्ने भएको हुँदा यस्तो विषम परिस्थितीमा बिना काम घरबाट बाहिर ननिस्किनु, निस्कनै परेमा सही तरिकाले मुख(नाक छोप्ने गरी मास्क लगाउनु, समय(समयमा सेनिटाईज गर्नु, एक अर्काबीच सामाजिक दुरी कायम गर्नु जस्ता स्वास्थ्यका मापदण्डहरु सरकारले जारी गरेको छ । तर जनता समाजवादी पार्टीले गरेको पार्टी प्रथम तथा दोस्रो पार्टी प्रवेश कार्यक्रममा यस मध्ये कुनै मापदण्डहरु नअपनाएको कारण यदि कुनै एक व्यक्ति पनि सो कार्यक्रममा गएको भए अन्य त्यहाँ उपस्थित हजारौं व्यक्तिहरु कोरोनाको शिकार हुने भएका छन् ।
सरकारले भने अनुसार कसैको स्वास्थ्यसँग कसैले खेलवाड गर्ने हक नभएकोले यस्तो वृहत पार्टी प्रवेश कार्यक्रम गरी जनताको स्वास्थ्यसँग खेलवाड गर्ने ति नेताहरुलाई कारवाही कसले गर्ने ? अगुवाहरुको प्रश्न रहेको छ ।

जसपाले पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिँदै मंगलबार पर्साको विन्दवासिनी र पकहामैनपुर गाउँपालीकामा बृहत पार्टी प्रबेश तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको थियो भने सोमबार सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा कार्यक्रम सम्पन्न गरेको थियो ।
विन्दवासिनी गापाका नव प्रबेशिहरूलाई फुलमाला लगाउदै पार्टीका बरिष्ट नेता पुर्व प्रधानमंत्री डा.बाबुराम भट्टराई, पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ, प्रदेश नम्बर २ का मुख्यमंत्री लालबाबु राउत , पर्सा क्षेत्र नं १ का सांसद प्रदिप यादव, लगायतले पार्टी प्रबेश गराएका थिए । पार्टी प्रबेश संघीय सांसद, प्रदेश सांसदहरू पार्टीका नेता तथा कार्यकर्ताका साथै हजारौंको संख्यामा स्थानीयहरुको उपस्थिति रहेको थियो ।