महानगरपालिकाले सडक मर्मत नगरेको भन्दै युवाहरुद्वारा चक्काजाम

50

संतोष रन्जितकार
वीरगंज, २८ असोज ।
बीरगन्जको माईस्थानमा बुधबार युवाहरुले आधा घण्टा चक्का जाम गरेका छन् । बीरगन्ज महानगरपालिकाले माईस्थान क्षेत्रको विकास तथा सो क्षेत्रको सडकहरु मर्मत गर्नुपर्नेमा चासो नदिएको कारणले युवाहरुले चक्का जाम गरेका हुन् ।
माईस्थानका सचेत युवाहरु तथा बीरगन्ज स्प्रिट क्लबका युवाहरुले गत असोज १९ गते माईस्थान क्षेत्रको विकासको सवालमा महानगरपालिकालाई गम्भीर हुनु पर्ने भन्दै मेयर बिजय कुमार सरावगीलाई ज्ञापन–पत्र समेत बुझाएका थिए । ज्ञापन–पत्रमा माईस्थान क्षेत्रको सडक मर्मतको काम ७ दिन भित्र शुरु गर्ने पर्ने अल्टिमेटम दिइएको थियो ।
तर, सात दिन बितीसक्दा समेत महानगरपालिकाले भत्केका सडकहरुको मर्मत सम्भारको काम अगाडी नबढाएपछि बाध्य भएर सडक जाम गर्नु परेको युवाहरुले बताए । बीरगन्जको माईस्थान गहवा मन्दिर पश्चिम पट्टी तथा मुख्य सडकदेखी गीता मन्दिर जाने सडक पूर्ण रुपमा जिर्ण भइसकेको अवस्थामा समेत महानगरले निर्माण कार्यमा ध्यान नदिएको स्थानिय युवाहरुको आरोप रहेको छ ।
महानगरले सडक निर्माणको कार्यलाई यथाशिघ्र अगाडी नबढाए आन्दोलनलाई थप कडा पार्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।
स्प्रिट क्लबका अध्यक्ष राजन गुप्ताको नेतृत्वमा नेविसंघका ठाराब एकाई अध्यक्ष मनोज साह, अमित चौरसिया तथा अन्जन गुप्ता लगायतका युवाहरुको समूहले चक्का जाम गर्दै बाटो समेत अवरुद्ध गरेका थिए । मेयर सरावगीलाई पटक–पटक समस्याको बारेमा जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएपछि बाध्य भएर बिरोधमा उत्रिनु परेको नेविसंघ एकाई अध्यक्ष मनोज साहले बताएका थिए ।