बलात्कारीलाई फाँसीको सजाय माग गर्दै युवाहरुद्वारा र्‍याली, प्रदर्शन र धर्ना

31

संतोष रन्जितकार
वीरगंज, २९ असोज ।
बलात्कारीलाई फाँसीको सजाय माग गर्दै वीरगंजमा युवाहरुले प्रदर्शन गरेका छन् । युवाहरुले बलात्कार गर्ने जो कोहीलाई पनि सरकारले फाँसीको सजाय दिनुपर्ने माग गर्दै घण्टाघरमा प्रदर्शन गरेका हुन् ।
सामाजमा महिला हिंसाका गतिविधीले प्रश्रय पाएको भन्दै वीरगंजका युवाहरुले र्‍याली सहित विरोध प्रदर्शन गरेका थिए ।

बलात्कारीलाई फाँसी दे, न्यायमा ढिलाई भनेको अन्याय हो, सरकार भेटियो न्याय भेटिएन लगायतका विभिन्न नारा लगाउँदै वीरगञ्जको घण्टाघरबाट सुरु भएको विरोध र्‍याली नगरको विभिन्न भाग परिक्रमा गरि पुन: घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो । युवाहरुले र्‍यालीपछि केही बेर घण्टाघरमा धर्ना समेत दिएका थिए ।
सच्चा पुरुष नारीको सम्मान, बलात्कारमुक्त हाम्रो समाज, हाम्रो अभियान छोटो हाम्रो लुगा होईन छोटो तपाईको सोच हो, पिडीतलाई न्याय देउ माफ गर्नुहोला तपाईले सम्पर्क गर्न खोज्नुभएको सरकार भ्रष्टाचारमा व्यस्त छ भन्ने विभिन्न नाराहरु लेखिएका प्लेकार्ड सहित युवाहरुले प्रदर्शन गरेका थिए ।
र्‍यालीमा सहभागिहरुले बलात्कार जस्तो जघन्य अपराधमा संलग्न रहेकाहरु लाई कारवाहीको दायरामा ल्याई फाँसीको सजाय दिनुपर्ने माग गरेका थिए भने कार्यक्रममा अधिकांश युवाहरुले कालो रंगको कपडा लगाएर प्रदर्शन गरेका थिए ।