स्वास्थ्य मापदण्डको धज्जी उडाउँदै सर्वसाधारणहरु पूजापाठ तथा बलिमा व्यस्त, प्रहरी प्रशासन मुकदर्शक

सरकारले हिन्दुहरुको आस्थासँग खेलवाड गरिरहेको छ : दर्शनार्थीहरु

66

संतोष रन्जितकार
वीरगंज, १ कार्तिक ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना मनाइएको छ । तर यस वर्ष कोरोना महामारीले गर्दा पर्सा जिल्ला भित्र रहेका सबै मन्दिर, शक्तिपिठहरुलाई जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम बन्द गरिएको छ ।

जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकको निर्णय अनुसार कोभिड(१९ को रोकथाम, नियन्त्रण र व्यवस्थापनलाई प्रभावकारी बनाउन संक्रामण रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम पर्सा जिल्लाभित्र रहेका गहवामाई मन्दिर, बिर्ता माई, नगवा र बिन्दवासिनी लगायतका सबै शक्तिपिठहरुमा परम्परादेखि हुँदै आएको नित्य पूजा बाहेक सर्वसाधारणको दर्शनको लागि कार्तिक १ गतेदेखि कार्तिक १६ गतेसम्म निषेधाज्ञा जारी गरिएको बैठकले निर्णय गरेको थियो ।


यसै सन्दर्भमा पर्सा प्रशासनले लगाएको नियमको उल्लंघन गर्दै सर्वसाधारणहरु बडादशैंको पहिलो दिन घटस्थापनामा विभिन्न मन्दिर शक्तिपिठहरुमा दर्शन गर्न घुइँचो लागेका थिए । सरकारले लगाएको स्वास्थ्य मापदण्ड अनुसार मास्क लगाउनु पर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने जस्ता नियमहरुको धज्जी उडाउँदै सर्वसाधारणहरु देवीको दर्शन तथा पूजापाठ गर्न घुइँचो लागेका थिए ।
यसैबीच वीरगंज महानगरपालिका वडा नं. ३२ स्थित मुरता माईको मन्दिरमा दर्शनार्थीहरुले स्वास्थ्य मापदण्ड पुरा नगरी देवीको पूजापाठ तथा दर्शन गरेका थिए भने सरकारले यसपटकको दशैंमा पशुबलिमा रोक लगाएको भएपनि उक्त मन्दिरमा दर्शनार्थीहरुले पशुबलि दिएको समाचार प्राप्त भएको छ ।

उक्त मन्दिरमा देवीको दर्शन तथा पशुबलि दिन आएका एक दर्शनार्थीले सरकारले हिन्दुहरुको अस्थामाथि नै किन रोक लगाएको हो भनी आक्रोश समेत पोखेका थिए । उनले सरकारले मठ मन्दिरलाई मात्र किन बन्द गरेको हो जबकि अरु धर्महरुको मस्जिद, चर्च लगायतका आस्थाहरु खुल्ला रहेका छन् । उनीहरुले नियमित नै आफ्नो आस्थामा गई प्रे गर्ने, नमाज पढ्ने जस्ता कार्यहरु संचालन रहेको भएपनि हिन्दुहरुको मठमन्दिरलाई मात्र बन्द गरिएको छ । सरकारले हिन्दुहरुको भावना

परम्परादेखि चल्दै आएको पूजापाठमा सरकारले रोक लगाएर ठुलो पापको भागी बन्न पुगेको छ । सरकारले अरु धर्महरु जस्तै हिन्दुहरुको मठमन्दिरलाई पनि खोल्नु पर्छ, स्थानीय प्रशासनले बन्द गरेको सबै मठमन्दिरहरु खोलिदिए हामी स्वास्थ्यको मापदण्ड पुरा गरेर नै दर्शन तथा पूजापाठ गर्छौ भनी एक दर्शनार्थीको भनाई रहेको थियो । उनले सय वर्षमा एकचोटी महामारी त आउने नै गर्छ तर यी महामारीहरुलाई देवी देउताहरुले नाश गर्ने गर्छन । यो कोरोना केही होइन शक्तिपिठहरुमा गएर श्रद्धासुमनले पूजापाठ गरे यी सबै ठिक हुनेछन् भनेर आफ्नो भनाई व्यक्त गरेका थिए ।
त्यसैगरी सो मन्दिरमा भाकेकाहरुले बलि धमाधम दिइरहेको देखेर पनि प्रहरी प्रशासन मुकदर्शक बनेको थियो ।