प्रहरीको गोली लागी एक घाइते

26

संतोष रन्जितकार
वीरगंज, ५ कार्तिक ।
डिउटीमा रहेको प्रहरीलाई पेस्तोल देखाएर आक्रमण गर्न खोज्नेका बिरुद्ध बारामा प्रहरीले जवाफी फायर गरेको छ । बाराको नेपाल–भारत सिमामा पर्ने बंकुल बजारमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।
भारतबाट नेपाल आइरहेका एकजना व्यक्तिलाई प्रहरीले सोधपुुछ गर्दा पेस्तोल देखाएर प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि प्रहरीले प्रतिरक्षामा गोली चलाएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनु भयो ।
प्रहरीको जवाफी कारवाहीमा गोली लागेर व्रिजकिशोर कुशवाहा भन्ने व्यक्त घाइते भएको वताइएको छ । उनको पाखुरामा गोली लागेको छ । गोली लागेर घाइते भएका कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
घटनाको बिषयमा अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।