भारतले सिमानाका खुल्ला गरेपछि वीरगंजको सिमामा तनाव

1,825

संतोष रन्जितकार
वीरगंज, ६ कार्तिक ।
भारतको गृहमन्त्रालयले अन्तराष्ट्रिय सीमानाका खुला गर्न औपचारिक रुपमा निर्देशन दिएपछि भारतबाट नेपालतर्फ आउनेहरुको भीडलाई रोक्न सीमामा खटिएका सुरक्षाकर्मीहरुलाई समस्या भएको छ । भारतले बिहिबारदेखि सीमा नाका खुला गरेपछि वीरगन्जको सीमानाकामा तनाव भएको हो ।
भारतले सीमा नाका खुला गरेपनि नेपालतर्फ भने अझै कार्तिक २० गतेसम्मका लागि सीमा नाका बन्द गरिने सरकारले निर्देशन दिएको छ । नेपाल सरकारको मन्त्री परिषदको निर्णय अनुसार कार्तिक २० गतेसम्म अन्तराष्ट्रिय सीमा नाकाहरु बन्द गरिएकोले उक्त समय अवधिभर सीमानाकाबाट कसैलाई आवत जावत गर्न नदिईने पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।
भारततर्फ सीमा नाका खुला भएपनि नेपालतर्फ अझै नाका बन्द नै रहेकोले यसलाई अझ व्यवस्थित बनाउनका लागि सुरक्षाकर्मीहरु तैनाथ गरिएको उहाँले बताउनुभयो । औपचारिक रुपमा कोही नेपाली नागरिक नेपाल आउन चाहेमा स्थानीय प्रशासनको अनुमति लिएर शंकाचार्यगेटको नाका भएर आउन सक्ने प्रमुख जिल्ला अधिकारी तामाङको भनाई छ ।

सरकारको निर्देशन बिना अहिले सीमा नाकाबाट आवतजावत गर्न नदिईने सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताउनुभयो । भारतको रक्सौलतर्फ नाका खुलेपछि ५०/६० जनाको संख्यामा नेपाल छिर्न लागेका भारतीयहरुलाई फर्काईदिएको जानकारी दिदै उहाँले नेपाल आउन चाहने नेपाली नागरिकहरुको हकमा स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार क्वारिन्टिनमा बस्ने गरी आउनलाई कुनै रोक नलगाईएको बताउनुभयो । उहाँले सीमामा थप सुरक्षा बल समेत पठाईएको जानकारी दिनुभयो ।