अवैध कुखुराको चल्लासहित मोटरसाईकल, पिकअप, मिनी ट्रक र चालकहरु प्रहरीको नियन्त्रणमा

40

संतोष रन्जितकार
वीरगंज, १४ कार्तिक ।
जिल्ला प्रहरी कार्यालय पर्साले अवैध कुखुराको चल्ला बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले कुखुराको चल्ला भारततर्फ लगिरहेको सूचना पाएपछि चेकजाँच गर्नेको लागि गएको प्रहरी टोलीले विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ बाट मोटरसाइकलमा लोड गरेर भारत तर्फ लागिरहेको अवस्थामा अवैध कुखुराको चल्ला बरामद गरेको हो ।
प्रहरी टोलीलाई देखेर तस्करहरु मोटरसाइकल तथा सो मा लोड गरिएको चल्लाहरु छोडेर फरार भएका थिए । प्रहरीले तस्करहरुले चलाईरहेको विआर ०५ एस ३३८९, विआर ०५ एस ४१५८ र विआर ०५ एस ११४३ नम्बरको ३ वटा भारतीय मोटरसाइकल भने जफत गरेको छ ।
प्रहरीले मोटरसाईकल चालकको बारेमा सोधपुछ गर्दै जांदा वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ स्थित खाली चौरमा रोकी राखेको ग १ क २५९० को मिनी ट्रक र ना.३ च ३२४८ को पिकअप भ्यानको चालकले सो चल्लाहरु चितवनबाट ल्याएको र भारततर्फ लग्न थालेको बताएपछि प्रहरीले मिनि ट्रक र पिकअप भ्यान तथा चालकहरुलाई आफ्नो नियन्त्रणमा लिएको थियो । सोही दरम्यान प्रहरीले पिकअप भ्यान र मिनी ट्रक चेकजाँच गर्दा दुवै गाडीबाट अवैध कुखुराको चल्ला भेटिएको थियो ।
प्रहरीले मिनी ट्रक चालक धादिङ जिल्ला सितालेख गाउँपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय कृष्ण बहादुर नेपाली, सह–चालक २९ वर्षीय राम कृष्ण नेपाली र पिकअप चालक चितवन जिल्लाको कालिका नगरपालिका वडा नम्बर ६ बस्ने सुवर्ण कुम्हाललाई भने पक्राउ गरेको छ ।
प्रहरीले मिनी ट्रक, पिकअप भ्यान र ३ वटै मोटरसाइकलबाट प्रहरीले ३२ हजार ६ सय ३२ गोटा चल्ला बरामद गरिएको जनाएको छ ।
जफत गरिएका चल्ला, मोटरसाइकल, पिकअप भ्यान र मिनी ट्रक र पक्राउ परेका तिनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला पशु क्वारेन्टाईन सिर्सिया पर्सामा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।