धुमधामका साथ मनाइयो ‘मोहम्मद डे’

27

संतोष रन्जितकार
वीरगंज, १४ कार्तिक ।
वीरगंजमा इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव आज धुमधामका साथ मनाइएको छ । मुस्लिक धर्मावलम्बीहरुले आजको दिनलाई ‘मोहम्मद डे’ पनि भन्ने गरेका छन् । ‘मोहम्मद डे’ को अवसरमा मुस्लिम समुदायले र्‍याली निकाल्नुको साथै मस्जिदहरुमा कुरान पाठ गर्ने, हजरत मोहम्मदको उपदेश स्मरण गर्ने र एकअर्कामा शुभकामना समेत साटासाट गरी धुमधामका साथ ‘मोहम्मद डे’ मनाएका थिए । तर, यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण सामूहिक भेला भएर गरिने कार्यक्रमहरु भने प्रभावित भएका छन् ।
मोहम्मदको बुवा अब्दुल्लाह र आमा आमिना रहेकी थिइन् भने उनको जन्म इस्वी सम्वत् ५७१ अप्रिल २० अर्थात् इस्लामी पात्रो हिजरी सम्वतको १२ रब्बी औव्वलमा साउदी अरबको मक्कामा भएको थियो ।
उनी जन्मिँदा रगतले नलतपतिएको, नुहाइ दिइसकेपछिको जस्तो सफा, सुगन्धयुक्त र जन्मजात खतना गरिएको अवस्थामा थिए भनिन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो । त्यसैले पनि साउदी अरबको मक्का र मदिनालाई पवित्र तिर्थस्थल मानिन्छ ।
मोहम्मदको जन्मजयन्तीको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक विदासमेत दिएको छ ।