स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सामुदायिक विद्यालयहरु आइतबारदेखि खुल्ने

64

संतोष रन्जितकार
वीरगंज, १६ कार्तिक ।
वीरगञ्ज महानगरपालिकाले नगरमा सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई आइतबारदेखि पठनपाठन सुरु गर्ने निर्देशन दिएको छ । वीरगञ्ज महानगरपालिका कार्यालयमा आइतबार वीरगञ्ज भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु बीच भएको छलफलबाट यस्तो निर्णय भएको नगरप्रमुख विजयकुमार सरावगीले बताए ।
त्यसैगरी महानगरको अनुमति अनुसार नै बिहिबारदेखि निजि विद्यालयहरुले कक्षा ८, ९ र १० को पठनपाठन सुरु गरिसकेका छन् ।
नगरप्रमुख सरावगीले सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको अभिभावकको अनुमति लिएर मात्र भौतिक रुपमा कक्षा संचालन गरिने तथा प्रथम चरणमा निजी विद्यालय झैँ कक्षा ८, ९ र १० तथा सो भन्दामाथिको पठनपाठन सुरु गर्ने निर्देशन दिएका हुन ।
पूर्व तयारी भएको र सक्षम रहेको विद्यालयहरुलाई मंगलबारबाटै कक्षा सूचारु गर्न निर्देशन दिएका छौं, र बाँकीलाई तयारी गर्न शुक्रबारसम्मको समय दिइएको नगरप्रमुख सरावगीले बताए । अगामी आईतबारबाट सम्पूर्णलाई विद्यालय खुल्ने छन् र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै पठनपाठन सुरु हुनेछ उनले भने ।

विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्डलाई कडा रुपले पालना गर्नुपर्ने विद्यालयहरुलाई निर्देशन दिइएको महागरका शिक्षा महाशाखा प्रमुख अरविन्द लाल कर्णले बताए । ’साबुन पानीले हात धुने, मास्क, पञ्जा, सेनीटाईजरको व्यवस्थापन गर्न, एउटा बेन्चमा बढीमा दुई जना विद्यार्थी राख्दै भौतिक दुरी जस्ता मापदण्ड पालन गर्न कडा रुपले निर्देशन दिएका छौं,’ उनले भने ।
मापदण्ड पूरा गर्ने क्रममा आवश्यक पर्ने थर्मल गन, साबुन, मास्क, सेनीटाईजर जस्ता स्वास्थ्य सामाग्रीको सम्पूर्ण व्यवस्थापन वीरगञ्ज महानगरपालिकाले गर्ने कर्णले जानकारी दिए ।
यस्तै भौतिक रुपमा कक्षा सञ्चालन सँगसँगै नेपाल सरकारले जारी गरेको विद्यार्थी सिकाई निर्देशिका बमोजिम वैकल्पिक माध्यमबाट हुने सिकाइलाई पनि निरन्तरता दिन विद्यालयहरुलाई निर्देशित गरिएको छ ।
वीरगञ्ज महानगरपालिको सभाहलमा नगरप्रमुख सरावगीको अध्यक्षता भएको छलफलमा शिक्षा शाखाका हरि राउत सहित विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।