घरेलु तथा साना उद्योग अनिश्चतकालका लागि बन्द, कार्यालयको एक कर्मचारीमा कोरोना पुष्टि

62

संतोष रन्जितकार
वीरगंज, १७ कार्तिक ।
घरेलु तथा साना उद्योग कार्यालय अनिश्चतकालका लागि बन्द भएको छ । कार्यालयका एक कर्मचारीलाई कोरोना पोजिटिभ भएको फेला परेपछि कार्यालय पूर्ण रुपमा अनिश्चितकालका लागि बन्द भएको हो ।
कार्यालयकी निमित्त प्रमुख, उद्योग अधिकृत रिमा साहले सोमबारदेखि अनिश्चितकालका लागि कार्यालयको सेवा बन्द गरिने जानकारी दिएकी छिन् । अधिकृत साहले एक सूचना जारी गर्दै आफ्नो कार्यालयको लेखापाललाई कोरोना संक्रमण पुष्टि भएपछि सबै सेवाहरु ठप्प हुने गरी कार्यालय बन्द गरिएको जानकारी दिएकी हुन् ।


उनले लेखापालको सम्पर्कमा अन्य कर्मचारीहरु पनि रहेकोले उनीहरुलाई पनि होम आइसोलेसनमा बस्नुपर्ने भएको बताएकी थिइन् । जिल्ला प्रशासन कार्यालय पर्सासँग समन्वय गरेर अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरेका छौं, उनले भनिन् ।
कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीहरुको पीसीआर परीक्षण गराउने र रिपोर्टको आधारमा कार्यालय खोल्ने वा कसरी सेवा सञ्चालन गर्ने भन्ने बारेमा आगामी दिनमा निर्णय गरिने उनले बताइन् ।
उक्त कार्यालयमा निमित्त प्रमुख, उद्योग अधिकृतसहित ९ जना कर्मचारी कार्यरत छन् । परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका लेखापालको पीसीआर परीक्षण रिपोर्ट आइतबार साँझ पोजेटिभ आएको थियो । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरेर घरेलुले असोज १६ गतेदेखि स्थानीय तह अनुसार वर्गीकरण गरेर उद्योग दर्ता तथा नवीकरणका सेवा प्रवाह गर्दै आएको थियो ।
आइतबार र सोमबार बीरगन्ज महानगरपालिका, मंगलबार र बुधबार पोखरिया, पर्सागढी र बहुदरमाई नगरपालिका, बिहीबार र शुक्रबार जिल्ला स्थित सबै गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिने गरिएको थियो ।