नेपाली कांग्रेस पर्साद्वारा सिमानाका खोल्ने माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

61

संतोष रन्जितकार
वीरगंज, १७ असोज ।
कोरोना महामारीले गर्दा विगत लामो समयदेखि बन्द रहेको रक्सौल वीरगंज सिमानाका खोल्न नेपाली कांग्रेस पर्साले माग गरेको छ । नेपाल–भारतबीच रोटीबेटीको सम्बन्ध रहेको हुनाले यस क्षेत्रका मानिसहरुको विभिन्न नातेदारहरु भारततर्फ रहेको तथा भारत रक्सौलका विभिन्न व्यक्तिहरुको सम्बन्धीहरु यहाँ रहेको हुनाले चाडबाडको समयमा आवत–जावत तथा भेटघाट गर्नको लागि सिमानाका खोल्नुपर्ने माग गरेको हो ।
कोरोनाभाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले चैत्रदेखि बन्द गरेको सिमा नाका खोलेर आवागमन सहज बनाउँन माग गर्दै नेपाली कांग्रेस पर्साले पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाएको हो ।


नेपाली कांग्रेस पर्साको क्षेत्र नम्बर १ को ‘ख’ को क्षेत्रीय कार्यसमितिले बुझाएको ज्ञापन पत्रमा नाका बन्द हुँदा नेपाल भारत बिचको रोटी बेटीको सम्बन्धलाई पनि असर परेको उल्लेख छ । तराई मधेसवासीको ठुलो पर्व दिपावली र छठ पनि नजिकिँदै गइरहेको बेलामा नाका बन्द गर्नु व्यवहारिक नभएको तर्क गर्दै कांग्रेसले लामो समयदेखि बन्द रहँदा आवागमन र व्यपार व्यवसायमा समेत कठिनाइ परेकाले नाका खोल्न सरकारसँग माग गरेको क्षेत्रिय सभापती अरविन्द कुमार गुप्ताले जानकारी दिए ।
कोभिड महामारीका कारण भारतले बन्द गरेको रक्सौल नाका कात्तिक ६ गतेदेखि एकतर्फीमा खोलिसकेको छ ।
नेपाल सरकारले भने वीरगञ्ज सहित देशकका अन्य सम्पूर्ण नाकाहरु कात्तिक ३० गतेसम्मका लागि बन्द रहने जनाएको छ ।
ज्ञापन बुझाउने टोलिमा क्षेत्रिय सचिव मनोज महतो, एकाई सभापतिहरू गोपाल रौनियार, विरेन्द महतो, कबिर अन्सारी, वडा अध्यक्षहरू दशरथ पटेल, गजेन्द्र कुर्मी, लखनलाल साह, नेविसंघका पूर्व केन्द्रीय सदस्य सुधिर पटेल, युवा नेता मनोज पटेल, रितेश गुप्ता, सुन्दर साहलगायतको सहभागिता रहेको थियो ।