नेपाली जनताको हक अधिकार एवं जिवनस्तर कांग्रेसले मात्रै माथि उकास्न सक्छ : केन्द्रिय सदस्य रिजाल

छिमेकी राष्ट्रससंग सम्बन्ध नेपाली कांग्रेसले मात्रै सुमधुर बनाउँछ : केन्द्रिय सदस्य चौरसिया

45

संतोष रन्जितकार
वीरगंज, १९ कार्तिक ।
नेपाली कांग्रेस पर्साले बुधबार वृहत पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ । पर्साको पकाहमैनपुर गाउँपालिका वडा नम्बर ५ मा कांग्रेसका बुथ सभापति बलिराम चौरसियाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), तत्कालिन संघिय समाजवादी पार्टी लगायतका विभिन्न पार्टी परित्याग गरी क्षेत्र नम्बर १ देखी ४ सम्मका ९ सय भन्दा बढीले नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् अनुशासन विभागका प्रमुख रमेश रिजाल, केन्द्रिय सदस्य एवम् तराई मधेस विभाग समन्वय समितिका प्रमुख अजय चौरसीया, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी लगायतका नेताहरुले अबिर तथा फुलमाला लगाएर स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रिजालले नेपाली जनताको हक अधिकार एवम् जिवनस्तरलाई माथि उकास्नका निम्ति नेपाली कांग्रेसको सरकार मात्रै सक्षम रहेको जिकिर गरे । अन्य पार्टी सत्तामा गएपछि भाग बण्डा र ठेक्काको कमिशनमा अल्झिए पनि कांग्रेसको सरकार निर्माण भएमा स्वास्थ्य, शिक्षा र रोजगारमा बृद्धि हुने उनले प्रतिवद्धता जनाएका थिए ।
त्यसैगरी पुर्वमन्त्री समेत रहनुभएका अजय चौरसीयाले कांग्रेस सत्तामा हुँदा छिमेकी राष्ट्रसँगको सम्बन्ध सुमधुर हुनुका साथै उद्योग व्यवसाय फस्टाउनु, सामाजिक न्याय कानुनी व्यवस्था र महिलाको अधिकार स्थापित भएको विगतले देखाएको स्मरण गरे ।
त्यस्तै नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले नेपालको आर्थिक व्यवस्था, नागरिकको अधिकार र मधेसीलाई अधिकार सम्पन्न गराउन सक्ने पार्टी कांग्रेस मात्रै भएको र यसको बिकल्प अरु कुनै पनि पार्टी बन्न नसक्ने ठोकुुवा गरेका थिए ।
कार्यक्रममा बब्लु श्रीवास्तव, रमेश पाण्डे, विशिष्ट नारायण कुर्मी, प्रदेश सभा सदस्य शंकर चौधरी, छटु साह, नविन सिँह लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।