बारामा गुणस्तरहीन खाने तेलको बिगबिगी, सम्बन्धित निकाय मौन

523

मनोज साह
जितपुर बारा, २३ कार्तिक ।
बारा जिल्लाको एक उधोगले गुणस्तरहीन खाद्य तेल उत्पादन र बिक्री बितरण गरिरहेको छ । बारा जिल्लाको औद्योगिक नगरी जितपुरसिमरा उप–महानगरपालिका वडा नं. ९ छाता पिपरामा रहेको आरती भेजिटेबल प्रा.लि. ले गुणस्तरहीन सोयाबिन तेल उत्पादन गरि बिक्री वितरण गरिरहेको हो । दशै, तिहार तथा छठ पर्वजस्तो चाडपर्वमा धेरै खपत हुने मौका छोपी आरती भेजिटेबल प्रा.लि. ले फार्चुन रिफाईन्ड सोयाबिन तेल बजार बिक्री गरिरहेको पाईएको छ । उत्पादन मिति २०७७ भाद्र ३० लेखिएको तेलका प्याकेटमा अखाद्य कालो बस्तु तेलमा भेटिन थालेपछि उपभोक्ताहरुको स्वास्थ्यसंग खेलवाड गरिरहेको पुष्टि भएको छ ।
छिमेकी देश भारतको प्रख्यात अदानी बिलमर लिमिटेडको प्राबिधिक सहयोग तथा ब्राण्ड मताधिकार प्रयोग गरि फार्चुन रिफाइन्ड सोयाबिन तेल उत्पादन गरिए पनि तेलमा मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने हानिकारक कण भेटिएकोले भारतीय प्रबिधिमा पनि शंका उत्पन्न भएको हो ।
स्वास्थ जनशक्तिको बिकास गर्न गुणस्तरीय खाध पदार्थ आवश्यक हुन्छ । नेपाल सरकारले गुणस्तरीय खाधान्न उत्पादनमा जोड दिएको छ । खाध पदार्थमा स्वच्छता हामी सबैको प्रतिबद्धता मुल नारा रहेको खाध प्रबिधि तथा गुण नियन्त्रण बिभागले पनि स्वच्छ तथा स्वास्थ खाध पदार्थमा जोड दिएको छ । मानव पुँजी नै राष्ट्रिय बिकास र समृद्धको संवाहक हुनाले राज्यले जनस्वास्थ्यमा बिशेष ध्यान दिनु पर्छ । खाध पदार्थको गुणस्तरीयता कायम गर्न बारीदेखि थालीसम्म बिशेष ध्यान दिनु पर्छ । खाध पदार्थ बिभिन्न चरण जस्तै – उत्पादन प्रशोधन, भण्डार र बितरणपछि मात्र उपभोक्ताको भान्सासम्म आईपुग्छ । यिनै चरण पार गर्दा बिभिन्न किसिमका भौतिक, रासायनिक र जैविक बस्तुले खाध पदार्थलाई दुषित बनाउँछन् । यस्ता अखाध बस्तु मिसिएका खाधान्न न्युन गुणस्तरका हुन्छन् र यस्ता खानेकुराको सेवन गर्दा स्वास्थ्य जिवनका लागि आवश्यक पर्ने पोषक तत्व प्राप्त गर्नुको सट्टा मानव स्वास्थ्यमा प्रतिकुल असर पर्छ । नियमनकारी निकायले जारी गरेको मार्ग निर्देशिकाले निर्दिष्ट गरेको प्रक्रिया अनुसार खाधान्न उत्पादन तथा बितरण गरिनुपर्छ ।
बारा जिल्लाको जितपुरमा तेलका अधिकृत थोक बिक्रेता रीया सप्लायर्सले बजारमा न्युन गुणस्तरका अखाद्य बस्तु मिसावट रहेको तेल बिक्री बितरण गरिरहेको छ । नेपाल गुणस्तर तथा नापतौल बिभाग ,खाध प्रबिधि तथा गुण नियन्त्रण बिभाग, उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालय जस्ता सम्बन्धित निकायले आफ्नो कार्य राम्रोसँग इमान्दारीपुर्वका नगरिरहेकोले सोझा जनताहरुले सास्ती खेपिरहेको जनता समाजबादी पार्टीका क्षेत्र नम्बर ४ (क) का संयोजक घनश्याम गिरीले बताए ।
खाध पदार्थको गुणस्तरीयता परिक्षण गर्ने निकायहरु मौन बसिदिंदा, पर्याप्त परिक्षण तथा अनुगमन नगर्दा, खाध पदार्थ उत्पादकले पनि सरकारी मापदण्ड अनुसार पुर्वधार बिकास गर्न आल्टाल गर्ने गरेको छ ।
हुन त नियमनकारी निकायले समय–समयमा अनुगमन गरेका समाचार बिभिन्न सञ्चार माध्यममा आइरहे पनि खाद्यान्नको गुणस्तरीयमा आशातीत सुधार आउन सकेको छैन ।
मानव स्वास्थ्यसँग प्रत्यक्ष असर गर्ने आरती भेजिटेबल प्रा.लि.द्वारा उत्पादित फार्चुन रिफाइन्ड सोयोबिन तेल प्रयोग नगर्न नगराउन नेकपाका बारा जिल्ला सदस्य ईश्वर ढकालले सम्पूर्ण जनतासँग अपील गरेका छन् र यस किसिमका उत्पादन तथा बिक्री बितरण गर्ने उपर प्रचलित कानुन बमोजिम दण्डसजाय हुनुपर्ने माग समेत गरेका छन् ।