बारा प्रहरीद्वारा पटाका तथा विष्फोटक पदार्थ सहित दुई जना पक्राउ

69

संतोष रन्जितकार
वीरगंज, २४ कार्तिक ।
इलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटेको प्रहरी टोलीले विष्फोटक पदार्थ तथा पटाका बरामद गरेको छ । प्रहरीले यात्रुवाहक बसभित्र खुर्सानीको बोरामा लुकाएर राखेको अवस्थामा आइतबार उक्त विष्फोटक पदार्थ तथा पटाका बरामद गरेको हो ।
जितपुर सिमरा उप–महानगरपालिका वडा नं. ५ स्थित ललका पुल नजिक सवारी साधन तथा पैदल यात्रुहरुलाई आइतबार बिहानको समयमा चेकजाँच गर्ने क्रममा वीरगंजबाट चितवन तर्फ जादै गरेको ना ७ ख ६०४१ नं.को यात्रुबाहक बसबाट सो पटाका तथा विष्फोटक पदार्थ प्रहरीले फेला पारेको थियो । प्रहरीले सो पटाका तथा विष्फोटक पदार्थको कसको रहेको भनी सोधपुछ गर्दा जिल्ला बारा फेटा गाँउपालिका वडा नं.१ त्रिवेणी वस्ने वर्ष २८ को लालबाबु दास र सोही ठाउँ बस्ने वर्ष २७ को कन्हैया दासको रहेको थाहा हुन आएको थियो । उनीहरुले उक्त विष्फोटक पदार्थ तथा पटाकाहरुलाई खुर्सानीको बोराभित्र राखेर बसको पछाडी डिक्कीमा राखी लुकाई छिपाई लैजादै गरेका थिए ।
उनीहरुले लग्दै गरेको सो बोराबाट नागिन पटका ४० बण्डल, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने गन्दक जस्तो देखिने पहेलो पदार्थ १ किलो ५ सय ग्राम र सुहागा जस्तो देखिने सेतो पदार्थ ६ किलो ९ सय ग्राम बरामद गरेको थियो ।
प्रहरीले उनीहरुलाई पक्राउ गरेर बारा जिल्ला अदालतबाट विष्फोटक पदार्थ अन्तर्गत कसूरमा पहिलो पटक दिन ५ को म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।