वीरगन्ज महानगरपालिकाद्वारा विद्यालयहरुको अनुगमन

44

वीरगन्ज, २६ कार्तिक ।
वीरगन्ज महानगरपालिकाले सामुदायिक विद्यालयहरुको अनुगमन निरीक्षणलाई निरन्तरता दिएको छ । कोरोना भाईरस (कोभिड(१९) महामारीका कारण लामो समयसम्म बन्द रहेको विद्यालयहरु स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कार्तिक २३ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको थियो । विद्यालयहरु संचालमा आएपछि महानगरपालिकाले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए/नभएको र गरे/नगरेको विषयमा महानगरपालिकाले गत आईतबारदेखि अनुगमन शुरु गरेको हो । सो अनुगमनलाई बुधबार पनि निरन्तरता दिएको हो । वीरगन्ज महानगरक्षेत्र भित्र रहेका सामुदायिक तथा निजी विद्यालयहरुले महानगरपालिका, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले तोकेको मापदण्ड अनुसार पठनपाठन भएको नभएको विषयमा अनुगमन गरेको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए । महानगरपालिकाले पाँचवटा टोली बनाएर अनुगमनमा खटिएको र अहिलेसम्म अनुगमन गरेका विद्यालयहरुले महानगरपालिकाले तोकेको मापदण्डलाई पालना गरेको पाईएको अनुगमनमा सहमागि वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका आनन्द लामिछानेले बताए । उनका अनुसार विद्यालय खुलेको जानकारी पाएपछि सबै विद्यार्थी विद्यालयमा पढ्न आएपछि कतिपय विद्यालयहरुमा सामाजिक दूरी कायम गर्न समस्या उत्पन्न भएको पाईएको पनि बताए । महानगरपालिकाले मुख्यगरी मास्क लगाउने, सामाजिक दूरी राख्ने, साबुन पानीले हात धुने लगायतका स्वास्थ्य सुरक्षाको विषयमा अनुगमन गरेको र कतिपय विद्यालयहरुमा आवश्यक मास्क, सेनिटाईजर र साबुन समेत वितरण गरिएको लामिछानेले बताए । वीरगन्ज महानगरभित्र ३४ वटा आधारभूत र माध्यामिक तहका विद्यालयहरु रहेका छन् । ती मध्य कक्षा ८, ९ र १० को पठनपाठन हुने माध्यामिक तहका विद्यालयहरुमा अनुगमन निरीक्षण भएको हो ।