पार्टीमा कोही महामहिम हुँदैन : पूर्व प्रधानमन्त्री नेपाल

नेपाल निजामती कर्मचारी संगठन समिति पर्साको नवनिर्मित भवनको उद्घाटन सम्पन्न

50

संतोष रन्जितकार
वीरगंज, १० मंसिर ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति पर्साको बुधबार नवनिर्मित भवनको उद्घाटन सम्पन्न भएको छ । वीरगंजस्थित जिल्ला समन्वय समिति पर्साको दक्षिण पट्टी निर्माण गरिएको दुई तल्ले भवनको पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले रिबन काटी तथा द्विप प्रज्वलित गरी उद्घाटन गर्नु भएको हो ।


उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका बरिष्ठ नेता तथा कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नेता नेपालले कर्मचारी सरुवा प्रणालीलाई पारदर्शी बनाउनु पर्ने बताए । उनले त्यसको लागि सिस्टम बसाल्नु पर्ने धारण जरुरी रहेको वताए ।
उनले भने यसका साथै राम्रो काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्नु पर्छ र नराम्रो काम गर्नेलाई दण्डितसमेत गर्न सक्नु पर्छ ।
अक्रो प्रसंगमा कुरा राख्दै नेता नेपालले भ्रष्टचारीलाई तह लगाउन सक्नु पर्ने वताए । उनले भने सरकारले भ्रष्टचारीलाई तह लगाउन सक्नु पर्छ, भ्रष्टचारीलाई तह नलगाएसम्म देशमा समृद्धि आउन सक्दैन ।


पार्टीको आन्तरिक बिवाद सम्बन्धमा बोल्दै नेता नेपालले पार्टीमा कोही महामहिम नभएको तथा पार्टी भन्दा माथी कोही हुदैन, पार्टीले जे निर्णय गर्छ त्यसलाई सबले मान्नु पर्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित गर्दै उनले भने आजिवन पदमा बसिरहने सोचबाट टाँढिनु पर्छ र पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सोचतर्फ लाग्नु पर्छ ।
नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेपाल निजामती कर्मचारी अधिकारी ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेल, नेपाल निजामती कर्मचारी संगठनका निवर्तमान अध्यक्ष मोहन कुमार घिमिरे, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, नेकपा पर्साका अध्यक्ष प्रभु हाजरा लगायतकाले मन्तव्य राखेका थिए ।


कार्यक्रममा नेकपा प्रदेश नं. २ का सह इन्चार्ज नागेन्द्र चौधरी, प्रतिनिधि सभा सदस्य शेखचन्द तारा, पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार, पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी, जिराभवानी गाउँपालिका अध्यक्ष रामपृत महतो, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केशी लामिछाने, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य बृजलाल पासवान लगायतको सहभागिता रहेको थियो ।
नेपाल निजामती कर्मचारी अधिकारी ट्रेड युनियन पर्साका अध्यक्ष सुभादार यादवले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन नेपाल निजामती कर्मचारी संगठन पर्साका सचिव संतोष कुमार यादवले गरेका थिए ।
नवनिर्मित भवनको शिलान्यास २०७१ साल जेठ १४ गते तत्कालिन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले गर्नु भएको थियो भने विभिन्न कर्मचारीको चन्दा सहयोगले रु २३ लाख १२ हजार एक ७० मा भवन निर्माण सम्पन्न भएको हो ।