सामाजिक संस्थाहरुले समाजको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् : नगरप्रमुख सरावगी

58

संतोष रन्जितकार
वीरगंज, १० मंसिर ।
सामाजिक संस्था दिव्य युवा क्लबको भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । वीरगंज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले क्लबको भवनको शिलान्यास गर्नु भएको हो ।
वीरगंज महानगरपालिका वडा नं. १४ चिनीमिल पिपरामा दिव्य युवा क्लब पर्साको भवन शिलान्यास गर्दै उनले सामाजिक संस्थासँग हातेमालो गर्दै अघि बढ्न महानगरपालिका तयार रहेको बताए । नगरप्रमुख सरावगीले सामाजिक संघ संस्थाले समाजको विकासमा महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै संस्थाको आफ्नै भवन भएमा कार्य सम्पादन तथा अन्य कार्यहरु गर्न सहज हुने बताउनु भएको थियो ।
महिला सशक्तीकरण, दलित सीमान्तकृत, अल्पसंख्यक, विपन्न समुदायको उत्थान, सामाजिक सेचतनामा यस संस्थाले उल्लेख्य योगदान पुर्‍याएको उनको भनाइ थियो ।
१० धुर जग्गामा दुई तले पक्की भवन बनाउने योजना सहित काम अघि बढाइएको दिव्य युवा क्लब कार्यकारी अधिकृत रामाकान्त पटेलले बताए ।
४० लाख लगत स्टिमेट गरिएको भवन बनाउनका लागि एक्सन एड नेपालले साढे ७ लाख रुपैयाँ दिने भएको उनले जानकारी गराए ।
एक्सन एडले क्लबसँगको सहकार्यमा पर्सामा महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।