वर्तमान सरकार मुलुकमा ब्रह्मलूट मच्चाएको छ :- नेता रिजाल

38

वीरगन्ज ।
नेपाली काँग्रेस पार्टीका केन्द्रिय सदस्य रमेश रिजालले वर्तमान सरकार भ्रष्टाचारीहरुको संरक्षक रहेको आरोप लगाएका छन् । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत जिराभवानी गाउँपालिका वडा नं. ५ शंकरसरैयाको सखुवनिया बजारमा आयोजित वृहत्त पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता रिजालले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको र भ्रष्टाचारीहरुलाई संरक्षण गरी रहेको बताए । उनले भ्रष्टाचारीलाई संरक्षण गर्दै सरकारले मुलुकमा ब्रह्मलूट मच्चाएको हुँदा अगामी निर्वाचनमा नेपाली काँग्रेसको सरकार हुने बताए ।

कार्यक्रममा वडा अन्तर्गतका हरैया, सखुवनिया, शंकरसरैया तथा कोढौलीका करिब ७ सय जना विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश गरेका थिए । राप्रपाका गणेश राउत थारु, मोहन राउत थारु, सोहन राउत, सत्यदेव राउत, रामराज राउत थारु, दुखा भैया, गणेश भैया, अलपत्र भैया, मुक्तिनारायण दास, सुरेश दास लगायतले पार्टी प्रबेश गरेका छन् । नव प्रवेशीहरुलाई प्रमुख अतिथि नेता रिजाल र प्रदेश सांसद शंकर चौधरीले अबिरको टिका तथा माला लगाएर स्वागत गरेका थिए ।