जिल्ला प्रहरी कार्यालय पर्सा र स्थानीय जनप्रतिनिधिहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

74

संतोष रन्जितकार
बीरगन्ज, १७ मंसिर ।
लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साले स्थानीय तहका प्रतिनिधीहरुसँग अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पीडित महिला तथा बालकालिकाको सहायतामा स्थानीय तहको भूमिका विषयक अन्तक्रिया कार्यक्रम बुधबार बीरगन्ज उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रममा लैगिंक हिंसा न्युनिकरण लागि स्थानीय जनताहरुलाई सचेत बनाउन स्थानीय तहले विभिन्न कदम चाल्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका थिए ।


पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी रहेका थिए ।
कार्यक्रममा बोल्दै बीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले महिला हिंसा अन्त्यको लागि स्थानीय सरकारको हैसियतले गर्नुपर्ने काममा आफु कटिबद्ध रहेको बताए । उनले न्यायिक समितिको अधिकार क्षेत्रमा भएका कामहरु छिटोछरितो सम्पादन गरी पीडितलाई न्याय दिन र पीडकलाई सजाय दिलाउने काममा कुनै सम्झौता नगर्ने बताए । न्याय सम्पादनमा कहिलेकाहीं राजनीतिक दबाबले गर्दा न्याय मर्ने सम्भावनाहरु हुने हुँदा त्यस्तो अवस्थामा सम्वेदनशील भएर न्यायिक समितिले कार्यसम्पादन गर्नुपर्ने उनले बताए ।


कार्यक्रममा गत तीन आर्थिक वर्षको अपराधिक गतिविधिबारे कार्यपत्र प्रस्तुत गर्दै पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले स्थानीय तहमा जानुपर्ने विवाद तथा मुद्दा पनि हालसम्म जिल्ला प्रहरी कार्यालयमा आउने गरेको बताईन् । उनले स्थानीय तहले स्थानीय जनताहरुलाई सचेत बनाउन विभिन्न कदम चाल्नुपर्नेमा जोड दिएकी थिइन् ।
कार्यक्रममा बीरगन्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्की, विभिन्न पालिकाका प्रमुख, उपप्रमुखहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।