राष्ट्रपति भण्डारीसँग नेकपा अध्यक्षद्वयको छुट्टाछुट्टै भेट

48

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डले आज छुट्टाछुट्टै भेटघाट गर्नुभएको छ । राष्ट्रपति निवास शीतल निवासमा भएको भेटलाई नियमित भेट भनिएको छ ।

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न दिउँसो शीतल निवास जानुभएको थियो । “राष्ट्रपतिसँग प्रधानमन्त्रीको नियमित भेटघाट हो, अरु विषयमा छलफल भएको होइन” प्रेस विज्ञ बजगाईले भन्नुभयो । राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच एक घण्टा बढी समय छलफल भएको थियो ।

त्यस्तै, नेकपाका अर्का अध्यक्ष प्रचण्ड साँझ साढे ६ बजेतिर राष्ट्रपति भण्डारीलाई भेटन शीतल निवास पुग्नुभएको थियो । उहाँहरुबीच पनि करिब एक घण्टा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी गराएको छ । छलफल के विषयमा भएकोबारे जानकारी नगराइएको सचिवालयका सदस्यहरुले जानकारी दिनुभयो ।

पछिल्लो समय नेकपा भित्र विवाद उत्कर्षमा पुगेपछि अध्यक्षद्वय सघन संवादमा हुनुहुन्छ । नेकपा भित्रको विवादलाई लिएर राष्ट्रपति भण्डारीसमेत चिन्तित रहनुभएकाले अध्यक्षद्वयसँग परामर्शका लागि राष्ट्रपतिले बोलाउनु भएको हुनसक्ने नेकपाका नेताहरुको बुझाई छ । नेकपाको सचिवालय बैठक २० गते बोलाइएको छ । सभार: गोरखापत्र अनलाइन