अध्यक्ष र प्रधानमन्त्री छाड्दिनँ :प्रधानमन्त्री ओली

51

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनसम्म पार्टी अध्यक्ष र आम चुनावअघि प्रधानमन्त्री नछाड्ने प्रस्ट पारेका छन् ।

शनिबार सवा ३ घण्टा बसेको सचिवालय बैठकमा पार्टीभित्रको संकट समाधानमा सहमति नजुटेपछि नेताहरुले दुवै प्रतिवेदन स्थायी कमिटीमा लगेर छलफल गर्दै निर्णयमा पुग्ने बताएका थिए ।

‘जहाँ गएपनि म प्रधानमन्त्री पनि छाड्दिन, अध्यक्ष पनि छाड्दिन,’ ओलीले बैठकमा भनेको भनाइ उदृत गर्दै एक सचिवालयका नेताले भने । दुबै प्रतिवेदन स्थायी कमिटीमा जाने र बाहिर आएजस्तो ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने भन्ने भनाइप्रति संकेत गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले ठोस प्रस्ताव, कार्यसूची र तयारी पनि नभएकाले भोलिको स्थायी कमिटी बैठक रोक्नुपर्ने बताएका थिए । तर, अरू सचिवालय सदस्यहरूले रोक्न नहुने र सचिवालयमा पेस भएका सबै दस्तावेज छलफल गर्नुपर्ने बताएका थिए । “कुनै प्रस्ताव छैन । तयारी पनि छैन । सहमतिमा के गर्ने भन्ने पनि तय भएको छैन,” ओलीको भनाइ उद्धृत गदै ती सदस्य भन्छन्, “स्थायी कमिटी बैठक राखेर के गर्नुहुन्छ ? केका लागि बैठक चाहिएको हो ।”

प्रधानमन्त्री ओली जाने, नजाने टुङ्गो नलागे पनि आइतबारको एक बजेका लागि तय भएको स्थायी कमिटी बैठक भने नरोकिने ती सदस्य बताउँछन् ।