राप्रपा र वीरगंज नगर कार्यसमितिद्वारा सिमानाका खोल्ने मांग गर्दै र्‍याली प्रदर्शन तथा प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

66

संतोष रन्जितकार
वीरगंज, २१ मंसिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा र बिरगज नगर कार्य समितिले संयुक्त रुपमा सिमानाका खोल्नको लागि विरोध र्‍याली प्रदर्शन गरेको छ । वीरगंज नगर कार्यसमितिका अध्यक्ष जलेश्वर सर्राफको सभापतित्वमा सो र्‍याली निकालिएको थियो ।
उक्त र्‍याली वीरगंजको घण्टाघरबाट शुरु भई माईस्थान, आदर्शनगर लगायत महानगरको विभिन्न भाग परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर सम्पन्न भएको थियो । र्‍यालीमा विभिन्न स्थानका मानिसहरुले सहभागिता जनाएका थिए भने उनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा सिमानाका खोल्नको लागि प्रमुख जिल्ला अधिकारी अस्मान तामाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र समेत बुझाएका थिए ।


सो व्यक्तिहरुले नेपाल भारतमा रोटीबेटीको सम्बन्ध रहेकोले चाँडो भन्दा चाँडो सिमा खोल्न आग्रह गरेका थिए । उनीहरुले कोरोनाको कारणले गर्दा वैवाहिक कार्यक्रमहरु विगत ९ महिनादेखि बन्द रहेको थियो तर अब वैवाहिक कार्यक्रमहरु शुरु भएपछि आफ्नो आफन्तजनहरुलाई आउन–जान कठिनाई हुने गरेको, नेपाल तथा भारतका केटाकेटी बीच विवाह हुने भएकोले गाडीहरु आउन–जान नपाएपछि धेरै नै समस्याहरु उत्पन्न हुने गरेकोले सोको व्यवस्था मिलाउनुपर्ने ज्ञापनमा उल्लेख गरिएको छ ।
त्यस्तै विभिन्न वैवाहिक कार्यक्रम, धार्मिक कार्यक्रम तथा विभिन्न किसिमका कार्यक्रमहरुको लागि मानिसहरु भारतमा गई विभिन्न सरसामानहरु किन्ने भएकोले सिमानाका बन्द भएपछि उनीहरुलाई कठिनाई भएकोमा तथा सबै क्षेत्रहरु संचालनमा आएपछि सिमानाका पनि खोल्नु पर्ने माग राख्दै ज्ञापन बुझाएका थिए । नेपाल–भारतको दौँतरी सम्बन्ध परापुर्बकाल देखि नै रहि आएकोले प्रधानमन्त्रीले छिटो भन्दा छिटो सिमानाका खोल्नु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । कार्यक्रम वक्ताहरुले आ–आफ्नो भनाइ राखेका थिए ।
सो ज्ञापन पत्र बुझाउनेमा राप्रपाका केन्द्रिय सदस्य राम बहादुर थापा, शम्भु प्रसाद चौरसिया, गया पासवान हाजरा, अर्जुन बहादुर सिंह ठाकुरी, जिल्ला अध्यक्ष अंगद ठाकुर जिल्ला उपाध्यक्ष शान्ति के .सी., अवध किसोर साह, जिल्ला सचिव अजय पौडेल, नगर सचिव राजेश गुप्ता, विरगंज नगर युवा समितिका अध्यक्ष दीप नारायण यादव, बिद्यर्थी संगठनका अध्यक्ष राज कुमार साह लगायतका व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।